टिकटकमाथिको प्रतिबन्ध हटे पनि खुल्न अझै समय लाग्ने, यस्ता छन् सर्तहरू

काठमाडौं । सरकारले टिकटकमाथि लगाएको प्रतिबन्ध हटाएकाो छ । प्रतिबन्ध हटाए पनि टिकटक खुल्न भने अझै केही समय लाग्नेछ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सर्ट भिडियो शेयरिङ एप्स टिकटकमाथिको प्रतिबन्ध हटाउने नीतिगत निर्णय गरेको छ ।

तर, सो निर्णय कार्यान्वयनमा भने तत्कालन आउनेछैन । सरकारका प्रवक्तासमेत रहेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले राखेको सर्त पूरा गरेपछि मात्र प्रतिबन्ध हटेको निर्णय कार्यान्वयन हुने बताएका छन् ।

उनका अनुसार ‘सामाजिक सञ्जाल सञ्चालन निर्देशिका २०८०’ अनुसार टिकटकले सर्तहरू पूरा गर्नुपर्नेछ । जसमा यो एप्स सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सूचीकरण हुनुपर्छ । यति मात्र होइन, प्वाइन्ट अफ कन्ट्र्याक्ट पनि तोक्नुपर्छ ।

सरकारले राखेको अर्को सर्त हो फिल्टिरिङ । मन्त्री गुरुङले भने, ‘जे कारणले टिकटक बन्द गरिएको हो, त्यस्तो परिस्थिति कुनै पनि नआउने गरी फिल्टिरिङ हुनुपर्छ ।’ तत्कालीन प्रचण्ड सरकारले टिकटकबाट सामाजिक मर्यादा उल्लंघन भएको भन्दै प्रतिबन्ध लगाएको थियो ।

अब सरकारले यस्तो नहुने अवस्थाको सुरक्षा टिकटक कम्पनीबाट खोजेको छ । साथै सरकारले सुरक्षाको विषय पनि सर्तमा राखेको छ । नेपालको पर्यटन प्रवर्द्धन गर्नुपर्ने, डिजिटल साक्षरताका लागि सहयोग गर्नुपर्ने लगायतका सर्तहरू छन् । टिकटक कम्पनीले नेपाल सरकारका यी सर्तहरूमा सहमति जनाई सम्झौता गरेपछि टिकटकमाथि प्रतिबन्ध हटेको विषय कार्यान्वयनमा जानेछ । यसपछि मात्र मोबाइलमा टिकटक खुल्नेछ ।

सम्बन्धित समाचार