समुदायमा कोराना फैलिएको आशंका हिमा गाउँपालिकामा निषेधाज्ञा , ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा भएको स्वाब परिक्षणमा हिमा गाउँपालिकाका ९ जनामा र नगरपालिकाका एक जनामा कोराना पोजेटिभ देखिएपछि हिमा गाउँपालिकामा निषेधाज्ञा जारी गरिएको छ । भदौ २ गते राति १२ बजेदेखि अर्को आदेश नभए सम्मका लागि गाउँपालिका निषेधाज्ञा गरिएको हो । पहिलो चरणमा गाउँपालिकाका बढि सम्पर्क हुने बिन्दुमा रहने ब्यक्तिहरुको स्वाब संकलन गरि पिसिआर परिक्षण गरिएको थियो । जसमा हिमा गाउँपालिकाका विभिन्न वडामा बस्ने ९ जनाको रिर्पोट पोजेटिभ आएपछि गाउँपालिका नै निषेधाज्ञा गरिएको साहयक प्रमुख जिल्ला अधिकारी ओम प्रकाश देवकोटाले बताउनु भयो ।उनले भने,‘समुदायस्तर सम्म हुन सक्ने फैलावटलाई मध्येनजर गर्दै गाउँपालिकामा निषेधाज्ञा गरिएको हो ।

जनस्वास्थ्य र सुरक्षा मापदण्डको परिपालना गर्न हिमाबासीलाई आग्रह गरिएको छ ।’ हिमा गाउँपालिकाको पुर्वको बाइस थाप्ला(तिला गाउँपालिकाको सिमाना) पश्चिममा कालिकोट जिल्ला, उत्तरमा आचार्यलिही ( सिँजा गाउँपालिकाको सिमाना) तथा दक्षिणमा बालुवा खोला चार किल्ला भित्रको क्षेत्रमा औषधि पसल र स्वास्थ्य सेवा बाहेकका क्रियाकलापहरु पुर्ण रुपमा बन्द गरिएको छ ।संक्रामक ऐन २०२० को २(२) तथा स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) बमोजिम निषेधाज्ञा गरिएको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाका अनुसार अर्को आदेश नहुन्जेल सम्मको लागि सार्बजनिक रुपमा हिडडुल तथा आवतजावत गर्न पाइनेछैन् । अत्यावश्यक काम बाहेक घरबाहिर निस्कन नुहने,होटल, रेष्टुरेण्ट, व्यवसाय, संघसंस्था, कार्यालय खुला गर्न पाइनेछैन् । कुनै पनि किसिमको जमघट,भेला कार्यक्रम सञ्चालन गर्न नमिल्ने प्रमुख जिल्ला अधिकारी थापाले बताए ।धार्मिक पर्व, जात्रा, महोत्सव आयोजना गरि चलाउन पाइदैन् । कुनै किसिमको भोजभत्तेर पार्टीको आयोजना तथा उत्सव मनाउन मनाही गरिएको छ । प्रमुख जिल्ला अधिकारी थापाले भने,‘कुनै पनि बिरामी भएमा नजिकैको प्रहरी युनिट तथा गाउँपालिकाको स्वास्थ्य संयोजकलाई सम्पर्क गर्न अनुरोध गरिएको छ । ।