जुम्लाका ५ जनामा कोरोना संक्रमाण ।
दिलमाया शाही
समुदायमा कोरोना भाइरस फैलिएपछि जुम्लाको सदरमुकाम खलंगास्थित चन्दननाथ नगरपालिका र तिला गाउँपालिका– ५ ढिमकोट गाउँमा निषेधाज्ञा जारी गरिएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको प्रतिवेदनअनुसार कोरोना संक्रमण देखिएकोले दुई स्थानीय तहमा दिउँसो ३ बजेदेखि निषेधाज्ञा गरिएको हो । चन्दननाथ नगरपालिकाका चार जना र एक तिला गाउपालिकाका गरी ५ जनामा कोरोना संक्रमण देखिएकोले थप संक्रमण फैलिन नदिनका लागि नगरपालिका सिल पनि गरिएको प्रहरी नायव उपरीक्षक लालबहादुर धामीले बताए । त्यसैगरी तिला गाउँपालिका– ५ ढिमकोट गाउँमा एकजना महिलामा कोरोना संक्रमण भेटिएको छ । चन्दननाथ नगरपालिकाको पूर्वको दानसाँघु, पश्चिममा उमगाड, उत्तरमा कर्णाली प्राविधिक शिक्षालय र दक्षिणमा तिला नदीको क्षेत्रभित्र निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले बताए ।
त्यस्तै तिला गाउँपालिका– ५ ढिमकोट गाउँको पूर्वमा चुलाकोट, पश्चिममा जुगामूल, उत्तरमा डुङ्ग्री गाउँ र दक्षिणमा खोलीगाउँको चारकिल्लाभित्र निषेधाज्ञा जारी गरिएको छ ।औषधि र स्वास्थ्य सेवाबाहेक अन्य सम्पूर्ण क्रियाकलाप पूर्ण रूपमा बन्द गर्न जिल्ला प्रशासन कार्यालय जुम्लाले निषेधाज्ञा जारीको सूचना प्रकाशित गरेको सहायक प्रमुख जिल्ला अधिकारी ओमप्रकाश देवकोटाले बताए । आइतबार दिउँसो ३ बजेदेखि गरिएको निषेधाज्ञा जारी अर्काे निर्णय नहुँदासम्मको लागि संक्रमण रोग ऐन, २०२० को दफा २(२) तथा स्थानीय प्रशासन ऐन, २०२८ दफा ६(३) बमोजिम निषेधाज्ञा जारी गरिएको प्रशासनले जनाएको छ ।
यसअघि जुम्लामा ६९ जानलाई कोरोना भाइरस संक्रमण देखिए पनि सबैजना निको भएर घर फिर्ता भएका थिए । तर, कनकासुन्दरी गाउँपालिका– ३ लुम गाउँकी एकजना महिला र जुम्लाको सदरमुकाम खलंगाका निको भएर घर पठाएको तीनजना व्यक्तिमा पुनः संक्रमण देखिएको छ । यतिवेला जुम्लामा धार्मिक रूपमा मेलापर्व लाग्ने गरेका छन् । देवीदेवता मठमन्दिरमा पूजाआजा गर्ने र मानिसको भेला हुने भएकोले जिल्ला प्रशासन कार्यालय जुम्लाले मेलापर्व पनि गर्नुपर्नेमा जोड दिएको छ ।








