एमाले तत्काल समाजवादी मोर्चामा सहभागी नहुने

काठमाडौं । समाजवादी मोर्चामा सत्ता गठबन्धनको सबैभन्दा ठूलो दल नेकपा एमालेले हसभागी नहुने बताएको छ । मोर्चाले बैठकबाट निर्णय नै गरेर एमालेलाई मोर्चामा सहभागी गराउन निर्णय गरेको थियो । यसको जिम्मा मोर्चाका संयोजक नेत्रविक्रम चन्द विप्लवलाइ दिएको थियो ।

शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र केपी शर्मा ओलीबीच सिंहदरबारमा छलफल भएको थियो । छलफलपछि सिंहदरबारबाट बाहिरिन गाडीमा बसिसकेका ओलीलाई पत्रकारहरूले एमाले पनि समाजवादी मोर्चामा सहभागी हुने हो भनेर सोधेका थिए । जवाफमा ओलीले होइन भने । ओलीलाई पत्रकारहरूको अर्को प्रश्न थियो– के–के कुरा भयो प्रधानमन्त्रीसँग ? यसबारे पनि ओली खुलेर बोल्न चाहेनन् । उनले राम्रै कुरा भयो मात्र भने ।

विप्लवले यसबारे बिहीबार साँझ बालकोटमै पुगेर एमाले अध्यक्ष ओलीसँग छलफल गरेका थिए ।

हाल समाजवादी मोर्चामा माओवादी केन्द्रसहित नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र विप्लव नेतृत्वको नेकपा सहभागी छन् । कांग्रेससहितको गठबन्धन कायमै रहेका बेला चार पार्टीलाई समेटेर समाजवादी मोर्चा गठन भएको थियो । त्यतिबेला कतिपयले यसलाई सत्ता गठबन्धनकै उपगठबन्धनको संज्ञासमेत दिएका थिए ।

कांग्रेससँगको गठबन्धन भत्किएर एमाले सत्तारुढ बनेसँगै एमालेलाई पनि मोर्चामा सहभागी गराउने कसरत चलेको थियो । तर, एमाले यसमा सहमत भएन ।
एमाले नआए पनि समाजवादी मोर्चा अगाडि बढ्छः भुसाल

यसैबीच, नेकपा माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसालले समाजवादी मोर्चामा सत्तारुढ एमाले नआए पनि मोर्चा कायम रहने बताएकी छन् । उनले वामपन्थी दल र समाजवादी हुनुको नाताले समाजवादी मोर्चामा एमाले पनि आउनु राम्रो हुने बताइन् ।

उनले समाजवादी मोर्चा विगतमै बनेको उल्लेख गर्दै अहिले सत्ता समीकरण फेरिँदा एमाले पनि सरकारमा रहेका कारण समाजवादी मोर्चाप्रति एमाले भ्रमित हुन नहुने बताइन् । उनले एमालेसँग छलफल गरेपछि समाजवादी मोर्चा अझै बृहत् हुन सक्ने बताइन् । उनले एमालेसँग सत्ता सहकार्य भइरहेकाले एमाले मोर्चामा नआए पनि आपसी असमझदारी हुनु नहुने बताइन् ।

उपाध्यक्ष भुसालले समाजवादी मोर्चामा आबद्ध पार्टीहरूका बीचमा नीति, कार्यक्रमहरूमा सहमति बन्दै गएमा एकताको तहसम्म पुग्ने बताइन् ।

 

सम्बन्धित समाचार