काठमाडौँ । नेकपा माओवादी केन्द्रको मंगलबार बसेको पदाधिकारी बैठकले दुई अभियान स्थगित गर्ने निर्णय गरेको छ । आज मंगलबार बालुवाटारमा बसेको पदाधिकारीको बैठकले उक्त निर्णय गरेको हो । माओवादीले चैत १५ गतेबाट तराई–मधेस जनजागरण अभियान (हुलाकी राजमार्ग केन्द्रित) र वैशाख १ गतबाट हिमाल–पहाड–तराई–मधेस राष्ट्रिय एकता अभियान सञ्चालन गर्ने निर्णय गरको थियो ।
मंगलबार बसेको पदाधिकारी बैठकले तयारी नपुगेको कारण देखाउँदै दुवै अभियान स्थगित गर्ने निर्णय गरेको सचिव देवेन्द्र पौडेलले बताए । फागुन १ देखि ३ गतेसम्म प्रज्ञा भवन कमलादीमा सम्पन्न भएको प्रथम विधान अधिवेशनले चैत र वैशाखमा दुई चरणको अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो ।
पहिलो चरणको अभियान अन्तर्गत चैत १ देखि १५ गतेसम्म तराई मधेस जागरण अभियान सञ्चालन हुने भनिएकोमा स्थायी कमिटीले चैत १५ देखि चैत मसान्तसम्म सञ्चालन गर्ने निर्णय गरेको थियो । यसैगरी दोस्रो चरणमा हिमाल–पहाड–तराई–मधेस राष्ट्रिय एकता अभियान वैशाख १५ देखि वैशाख मसान्तसम्म सञ्चालन हुने भनिएको थियो ।
यसअघिको विशेष रूपान्तरण अभियान, संगठन सुदृढीकरण र पार्टी रूपान्तरणका लागि कार्यकर्तामा केन्द्रित रहे पनि आगामी अभियान जनतामा केन्द्रित रहने भन्दै माओवादीले सो कार्यक्रम अघि सारेपनि अन्तिम समयमा आएर स्थगित गरेको हो।