छायाँनाथका नगरप्रमुख भामले लिए सात सय विद्यार्थी पढाउने जिम्मा

छायाँनाथ रारा नगरपालिकाका नगरप्रमुख विष्णुकुमार भाम विपन्न विद्यार्थीहरुका लागि न्यानो कपडा वितरण गरेर अभिभावकत्व ग्रहण गर्दै । तस्विरः नन्दबहादुर रोकाया

मुगु : मुगुको एक मात्र नगरपालिका छायाँनाथ रारा नगरपालिकाका प्रमुख विष्णुकुमार भामले ७ सय विद्यार्थीका पठनपाठनको जिम्मा लिएका छन् । आफ्नो नगरपालिकाभित्र रहेका १ देखि १४ सबै वडा समेटिने गरी नगरप्रमुख भामले अति विपन्न ७ सय विद्यार्थीहरुलाई आफनो कार्यकाल भरी पठनपाठन आवश्यक सामग्री सहयोग गर्ने–गराउने गरी जिम्मा लिएका हुन् ।

छायाँनाथ रारा नगरपालिकाभित्र रहेका ४५ वटा सामुदायिक विद्यालयमा अध्ययनरत आधारभूत तहमा १० जना र माध्यामिक तहमा १५ जना गरेर अति विपन्न दलित गरिब विद्यार्थी ७ सय छनोट गरिएको छ । वडाध्यक्ष, विद्यालय व्यवस्थापन समिति र विद्यालयले अति विपन्न विद्यार्थी भएको भन्ने सिफारिसका आधारमा ७
सय जना विपन्न विद्यार्थीहरुलाई छनोट गरिएको नगरप्रमुख भामको सचिवालयले जनाएको छ ।छायाँनाथ रारा नगरपालिका नगरप्रमुखसँग बालबालिका कार्यक्रम कार्यविधि २०७९ जारी गरेर नगरप्रमुखले बालबालिकाको हित र उनीहरुको संरक्षणका लागि गर्न सकिने क्रियाकलापक बारेमा कार्यविधिमा उल्लेख गरे अनुसार छायाँनाथ रारा नगरपालिकाका नगर प्रमुख भामले नगरपालिकाभित्रका अति विपन्न विद्यार्थीहरुलाई पठनपाठनमा सहजका लागि यो कार्यको सुरुवात गरेको बताए ।
आफ्नो कार्यकाल भरी ७ सय विद्यार्थीको अभिभावकत्वका साथ उनीहरुको पढाइमा सहजका लागि स्टेशनरी, लुगा लत्तासहित ती छनोट भएका विपन्न विद्यार्थीहरुलाई नगरप्रमुखले अभिभावकत्वका साथ नगरपालिकाकले सहयोग गर्ने गरेर यो कार्यक्रमको थालनी गरेको नगरप्रमुख भामले बताए । यो कार्यक्रम नगरपालिका भित्रका सबै विद्यालयमा लागु हुने छ ।

केही विद्यालयमा अति विपन्न विद्यार्थी छनोट हुन सकेका छैनन् । छनोट भएका विद्यालयका विद्यार्थीहरुलाई पहिलो चरणमा स्टेशनरी सामग्री सहयोग गरेका र चिसो मौसमसँगै उनीहरुलाई न्यानो कपडा टोपीलगायतका सामग्री सहयोग गरेको नगरप्रमुख भामले बताए ।

आइतबार छायाँनाथ रारा नगरपालिका वडा नम्बर १०, १३ र १४ वडामा रहेका एक माध्यामिक र ८ वटा आधारभूत विद्यालयका ९५ जना अति विपन्न विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको नगरप्रमुख भामको भनाइ छ ।

सम्बन्धित समाचार