काठमाडौं । यौनशोषण गरको तथा हत्या गरेको आरोप लागेका रामबहादुर बम्जन पक्राउ परेका छन् । मंगलबार बुढानिलकण्ठको हात्तीगौडास्थित घरमा रहेको तथ्य प्रहरीले पत्ता लगायो। त्यसपछि बुढानिलकण्ठस्थित रहेको एक घरमा डिएसपी भण्डारीको टोली पुग्यो।
बम्जन आफूलाई तपस्वी भएको दाबी गदै आएका थिए । यौनशोषण र हत्या आरोप लागेपछि उनी पटकपटक प्रहरीलाई चक्मा दिएर भाग्दै आएका थिए ।
तराईको बारा जिल्लाको एकान्त वनमा एक ठूलो पीपलको बोटमुनि ध्यान गरिरहेका कलिला रामबहादुर बम्जनले सन् २००५ मा एकाएक चर्चा बटुलेका थिए । त्यतिबेला १६ वर्षीय बम्जनले बारास्थित एक जङ्गलमा ध्यान गर्न सुरु गरेका थिए ।
ध्यानमा रहेका बेला उनी सेतो पातलो कपडामा थिए भने आँखा बन्द थियो । यसरी ध्यानमै बसेपछि उनी एकाएक चर्चामा आएका थिए । उनको चर्चा अन्तर्राष्ट्रियस्तरसम्मै भयो ।
उनी ध्यानमा बसेको स्थानमा स्थानीयवासी मात्र होइन, बाहिरबाट तीर्थयात्रीहरू पनि आउन थाले । यसै बेला उनी ध्यानमा बसेको एक तस्वीर विश्वचर्चित नै बन्न पुग्यो । यसरी बौद्ध धर्मावलम्बीका उनी एक पूज्य व्यक्ति नै बन्न पुगे । तर, उनको उपासनामा रहेका भक्तजन नै यौनशोषणको सिकार बनेको र उनले हत्या गरेको कुरा बाहिर आयो । त्यसपछि उनी लुकेर हिँड्न थाले ।
उनका आश्रममा आनीहरूमाथि यौनशोषण भएको र उनीहरूको हत्या भएको आरोप उनीमाथि लागेको छ । उनको आश्रमबाट केही व्यक्तिहरू बेपत्ता भएका समाचाहरू आएपछि उनी आबद्ध संस्था, बोधी श्रवण धर्म संघले एक विज्ञप्ति निकाल्दै त्यसको खण्डन गरेको थियो ।
बम्जन आबद्ध धार्मिक संस्थाको वेबसाइट मैत्रीय डट इन्फोमा उपलब्ध जानकारीअनुसार उनको जन्म सन् १९९० को अप्रिल १० तारिखमा रतनपुर, बारामा भएको थियो । उनका मातापिता किसान थिए । उनकी आमाको १२ वर्षको उमेरमा विवाह भएको थियो । उनका ५ छोरा र ४ छोरी छन् । रामबहादुर तेस्रो छोरा हुन् ।
उनले कलिलो उमेरमै ध्यानमा मग्न भएर सबैलाई आश्चर्यचकित बनाएको चर्चा चल्ने गर्छ । उनका अनुयायीहरूले बम्जन ६ महिनासम्म पानीसमेत नपिएर ध्यानमा लीन भइसकेको र बुद्धत्व प्राप्त नहुँदासम्म उनी ध्यानमै रहने बताएका थिए । गौतम बुद्धको आमाको नाम मायादेवीसँग बम्जनकी आमाको नाम पनि मिलेका कारण स्थानीयहरूले उनले गरेको तपस्यालाई गौतम बुद्धसँग जोडेर हेरेका थिए ।
त्यसो त तपस्या सुरु गर्नुअघि नै उनले आफ्नो परिवारका अन्य सदस्यलाई पशुबलि नदिन, माछा मासु र रक्सी सेवन नगर्न आग्रह गर्ने गरेको पनि बताइन्छ । तपस्या गर्ने क्रममा उनी बीचबीचमा हराउने र केही समयपछि फेला पर्ने क्रम चलिनै रह्यो । १६ वर्षको उमेरमा तपस्या गर्न सुरु गरेका बम्जन पहिलोपटक १० महिना लामो ध्यान बसेकै बेला अचानक गायब भएका थिए ।
अनुयायीहरूले बिस्तारै बम्जन ध्यानमा बसेको क्षेत्रलाई लुङ्ता छोर्तेनजस्ता धार्मिक ध्वजापताकाले सुसज्जित गरेपछि उक्त स्थान बिस्तारै धार्मिकस्थलमा परिणत हुँदै गएको थियो । नेपालमा मात्र नभएर विश्वव्यापी रूपमै चर्चा बटुल्न सफल उनको कर्मले यति चर्चा पायो कि उनले निकै कम समयमा सामान्य बुद्धभक्तबाट चर्चित तपस्वीको भेष धारण गरे ।
देशका विभिन्न ठाउँहरूमा आश्रम खोले र नेपालभित्र र बाहिर आफ्ना अनुयायीहरूको सङ्ख्या समेत क्रमिक रूपमा बढाउँदै लगे । त्यसै कारण उनले भित्रभित्रै असीमित शक्ति आर्जन गर्न थालेको बताइन्छ ।
बाराको रतनपुरी गाउँनजिकैको वनबाट तपस्या सुरु गरेका बम्जनले पछिल्लो दशकमा मुलुकको विभिन्न ठाउँमा आश्रम बनाउँदै आफ्नो वासस्थानसमेत फेरिरहने गरेको पाइएको छ ।
बाराबाहेक सिन्धुपाल्चोक, लमजुङ र सर्लाही जिल्लामा समेत उनको आश्रम रहेको प्रहरीले जनाएको छ ।
आरोपहरू के छन् ?
बम्जनले सञ्चालन गरेको आश्रमबाट अनुयायीहरू बेपत्ता भएको विवरण सार्वजनिक भएसँगै उनीमाथि विभिन्न किसिमका आरोप लाग्न सुरु भएको छ ।
हेटौँडास्थित प्रहरी कार्यालयमा फुलमाया रूम्बा र कर्म वाइबालगायतका अनुयायी बम्जनको आश्रमबाटै हराएको भनेर उजुरी परेको थियो । प्रहरी समक्ष उजुरी दिनेमा फुलमाया रूम्बाका भाइ विजय रूम्बा र सञ्चलाल वाइबाका छोरा महेन्द्र वाइबा थिए ।
त्यस्तै, बाराका हस्तबहादुर आले मगर र नुवाकोटकी गंगामाया तामाङले पनि हराइरहेका आफन्तको खोजी गरिदिन सम्बन्धित जिल्लाका प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।
२०७२ सालको भूकम्पअघि नै सिन्धुपाल्चोकस्थित आश्रममा गएका पिता कर्म वाइबाले आश्रमबाट फर्कन्छु भनेर फोन गरे पनि नफर्किएको र त्यसको एक महिनापछि हेटौँडास्थित प्रहरी कार्यालयमा उजुरी दिएको उनका छोरा महेन्द्र वाइबाले बताएका थिए ।
बारा जिल्लामै केही स्थानीयहरूमाथि हातपात गरेको विवरण आएपछि सन् २०१० मा बम्जनमाथि प्रहरीले अनुसन्धान सुरु गरेको थियो । सन् २०१२ मा फेरि सोही कारण देखाउँदै करिब तीन महिना दुई जना विदेशी महिलालाई बन्धक बनाएपछि उनी चर्चामा आएका थिए ।
यसै वर्षको भदौ महिनामा ललितपुरस्थित एक सामुदायिक रेडियो कार्यालयमा १८ वर्षीय गंगामाया तामाङले पत्रकार सम्मेलन गर्दै बम्जनले आफूमाथि बलात्कार गरेको आरोप लगाएकी थिइन् । त्यसपछि बम्जनविरुद्ध थप आरोपहरू लागेका र प्रहरीमा उजुरीहरू परेका थिए ।