दैलेख : जिल्ला अदालत दैलेखले बालिका बलात्कार कसुरमा एकजनालाई जन्मकैदको फैसला सुनाएको छ। नौ वर्षीया बालिका बलात्कार कसुरमा नारायण नगरपालिका–८ ढकानेका ८६ वर्षीय प्रजापति रेग्मीलाई अदालतले सोमबार जन्मकैद फैसला सुनाएको हो।
जिल्ला न्यायाधीश बलराम लम्सालको इजलासबाट ८६ वर्षीय रेग्मीलाई २५ वर्ष कैद, ७ लाख रुपैयाँ जरिवाना, ५० हजार पीडितलाई क्षतिपूर्ति र २८ सय रुपैयाँ पीडित राहत कोषमा जम्मा गर्नुपर्ने फैसला भएको अदालतका स्रेस्तेदार बद्री लामिछानेले जानकारी दिए।
आरोपित रेग्मीलाई बलात्कार घटनाकै दिन चैत २३ गते हिरासतमा लिई गरिएको अनुसन्धान प्रतिवेदनको आधारमा जिल्ला सरकारी वकिल कार्यालयले वैशाख १४ गते दैलेख जिल्ला अदालतमा जबरजस्ती करणी सम्बन्धी अभियोग दर्ता गराएको थियो।
अभियोग सम्बन्धमा भएको थुनछेक बहसपछि जिल्ला न्यायाधीश बलराम लम्सालको इजलासबाट पुर्पक्षका लागि दैलेख कारागार थुनामा पठाइएको थियो। बलात्कृत बालिका १० वर्षभन्दा कम उमेरकी रहेकी जनाइएको छ।