भारतमा बेचिएका दुई किशोरीको उद्धार


ललितपुर। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यको पहलमा भारतमा बेचिएका दुई किशोरीको उद्धार गरिएको छ । उक्त उद्धार मन्त्री आचार्यको पहलमा मानव बेचबिखन बिरूद्ध लामो समयदेखि कार्यरत दिल्लीस्थित सामाजिक संस्था किन इन्डियाले गरेको हो ।

उद्धार गरिएका किशोरीलाई मन्त्री निवास पुल्चोकमा आज स्वागत गर्दै मन्त्री आचार्यले भने, ‘सुर्खेतबाट किशोरी बेचबिखनमा परेको खबर आयो, त्यसपछि भारतमा रहेको नेपाली राजदूतावास र मानव बेचबिखनमा परेकालाई उद्धार गर्ने संस्था किन इन्डिया सँग समन्वय भयो र दिल्ली प्रहरी, दूतावासको समन्वयमा मेरै पहलमा हामीले दिल्लीबाट सफलतापूर्वक उद्धार गर्‍यौँ, यसका लागि किन इन्डिया संस्थाको महत्त्वपूर्ण भूमिका छ ।’

बेचिएका किशोरीको उद्धार कार्यको जानकारी गराउँदै शक्ति समूहकी चरिमाया तामाङले बेचबिखनमा परेकालाई स्वदेश फिर्तीको नीतिनियम र कार्यविधि नहुँदा उद्धारमा समस्या भएको बताइन्।

किन इन्डियाका प्रमुख नविन जोशीले उद्धार र स्वदेश फिर्तीको स्पष्ट नीतिनियम र कार्यविधि नहुँदा काम गर्न समस्या परेको बताउँदै आगामी दिनमा स्पष्ट दिशानिर्देश हुने अपेक्षा रहेको बताए ।

सामाजिक अभियानकर्मी एवं किन इन्डियाका नेपाल संयोजक इन्द्रराज भट्टराईले उद्धारका लागि पहल गरेकोमा माननीय मन्त्रीलाई विशेष धन्यवाद ज्ञापन गर्दै मानव बेचबिखन नियन्त्रणमा मन्त्रालयले अझै प्रभावकारी कदम चाल्नुपर्ने बताए । बेचबिखनमा पर्न नदिनका लागि समुदाय स्तरमा सचेतना र सतर्कता अपनाउनुपर्ने तथा महिला र युवा लक्षित रोजगारी र स्वरोजगारी कार्यक्रम संचालन गर्नुपर्ने बताए

सम्बन्धित समाचार