लुम्विनी भ्रमण गर्न कर्णालीलाई ५ नम्वरले दियो निम्तो

सुर्खेत, १६ वैशाख ।
कर्णाली प्रदेशका नागरिकलाई आफ्नो प्रदेशमा भ्रमण गर्न ५ नम्वर प्रदेश सरकारले निम्तो गरेको छ ।
लुम्विनी भ्रमण वर्ष २०७६ घोषणा गरेको ५ नम्वर प्रदेश सरकारले लुम्विनीसहित अन्य पर्यटकिय स्थलहरुको भ्रमणका लागि कर्णालीका नागरिकलाई निम्तो गरेको हो ।
५ नम्वर प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री लिला गिरीले कर्णाली प्रदेश सरकार र नागरिकलाई पठाएको निम्तो लुम्विनी भ्रमण वर्ष प्रचारप्रसार सचिवालय सदस्य प्रदिप आचार्यले कर्णालीका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिं बुढालाई हस्तान्तरण गरेका छन ।
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा भएको एक समारोहका बीच प्रचार प्रसार सचिवालय सदस्य आचार्यले कर्णाली प्रदेशको सुर्खेतमा रहेको काँक्रेविहार र लुम्विनीलाई जोडेर अभियान चलाउने सकिने भन्दै लुम्विनी भ्रमणका लागि निमन्त्रणा गरेका छन् ।
निम्ता ग्रहण गर्ने क्रममा कर्णालीका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिं बुढाले लुम्विनी भ्रमण वर्षसँग कर्णालीको पर्यटनलाई पनि जोड्नुपर्ने बताए । साथै उहाँले भ्रमण वर्षमा कर्णाली प्रदेशका नागरिककोसमेत उल्लखनिय सहभागिता रहने बताए ।
भ्रमण वर्षको अवसरमा मायाँदेवी प्रसुति उत्सव, सुजाता खिर उत्सव, सडक प्रदर्शनी, मायाँदेवी मन्दिरमा दैनिक दीप प्रज्जवलन, मासिक फुल मून डे, त्रिपिटिक वाचन, योग तथा ध्यान शिविर आदि कार्यक्रम गरिने छ ।