आगामी वर्षको योजना तर्जुमाका लागी सुझाव संकलन गर्दै तिलागाउँपालिका

जुम्ला : २०८०/८१ को योजना तर्जुमा गर्न तिलागाउँपालिकाले सुुझाव संकलन गरेको छ। जनताको आबश्यकता मुखि निति तथा कार्यक्रम ल्याउनका लागी सरोकारवाला पक्षको सहभागितामा तिलागाउँपालिकाले योजना तर्जुमाका लागि सामूहिक रुपमा सुझाव संकलन गरेको हो । तिलागाउपालिकाले योजना तर्जुमाका आफ्ना चरण पार गरेर आएका कार्यक्रमलाई पूर्णता दिनका लागी सुझाव संकलन कार्यक्रम गरेको गाउँपालिकाका अध्यक्ष मोतीलाल रोकायाले बताए । उनका अनुसार पुर्व जनप्रतिनिधि राजनितिक दल ,पत्रकार लगायतका सरोकारवालाको सुझाब मागिएको छ ।

त्यस्तै विकासमा सबैको सहभागिता र अपनत्व बोध गर्न र वास्तविक आवश्यकता पहिचान गर्न यो कार्यक्रम गाउँपालिकाले राखेको तिलागाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत मोहन बहादुर बिष्टले बताए । उनका अनुसार निति तथा कार्यक्रमा सबैको साझा धारणाबाट निर्माण भए त्यसको प्रतिफल पनि राम्रो आउने अपेक्षा राखिएको छ ।

त्यस्तै तिलागाउँपालिकाका उपाध्यक्ष गोरीकला बुढाका अनुसार सुुझाव संकलन कार्यक्रममा जिल्लास्थित राजनीतिक दल, सुरक्षा निकाय, बालक्लब, सञ्चारकर्मी, लक्षित वर्गलाई आमन्त्रण गरिएको हो । उनले भनिन,’ तिलाको विकासमा दिगोपना दिनका लागी सबैको सहयोग आबश्यक रहेको छ । उपाध्यक्ष बुढाका अनुसार स्थानीय तहले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट आगामी असार १० गतेभित्र गाउँसभामा पेस गरिसक्नुपर्ने छ । यस कारण तिला गाउपालिकाले आइतबार सुझाब संकलन गरेको हो ।

त्यस्तै नेपाल पत्रकार महासंघ जुम्लाका उपाध्यक्ष दिलमाया शाहीले बजेटलाई नागरिकको आवश्यकता र माग अनुसार प्रभावकारी बनाउन अनुरोध गरिन् । उनले संघियता आएपछि महिला बालवालिका जस्ता लक्षित वर्गका मुद्दाहरु मारमा परेको बताउदै यतिबेला ल्याउने नीति, कार्यक्रमले सामाजिक क्षेत्रलाई प्रथामिकता दिन अनुरोध गरिन । उनका अनुसार वडा स्तरबाट पालिकामा आएका कार्यक्रमहरुको प्राथमिकताका विषय पहिचान गरी जनताको चाहना र भावना बुझ्दै बजेट ल्याउनु पर्ने अहिलेको आबश्यकता हो । महासंघका उपाध्यक्ष शाहीले तिलागाउँपालिकालाई सुचना तथा संञ्चार निति बनाउन अनुरोध गरिन । उनले जुम्लामा संञ्चालित रेडियो , अनलाइन, पत्रपत्रिका जस्ता संञ्चार मध्यमलाई प्रथामिकतामा राखि बजेटको दुई प्रतिशत सुचनाको लागी छुट्याउन सुझाब दिईन ।

त्यस्तै कृषि उत्पादन वृद्धि गरी स्वरोजगार सिर्जना गर्ने, गुणस्तरीय शिक्षा कायम गर्ने, भौतिक पूर्वाधारलाई पहुँच र गुणस्तर कायम गर्ने ‘पालिकाले मुख्यगरी आर्थिक क्रियाकलापमा जनतालाई जोड्ने, शिक्षा र स्वास्थ्यको गुणस्तर वृद्धि गर्ने जस्ता विषयलाई प्राथमिकता दिन सरोकारवालाहरुले सुझाब दिएका छन ।

सम्बन्धित समाचार