जुम्ला : पत्नी हत्या आरोपित कनकासुन्दरी गाउँपालिका –६ पछाईवाडाका ३० वर्षीय रतिमान पछाईलाई प्रहरीले गिरफ्तार गरेको छ । २० वर्षीया पानसरा भन्ने दानसरा रावत (पछाईलाई) हत्या गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय जुम्लाले रतिमान पछाइलाई प्रकाउ गरेको हो । जेठ ३ गते किटानी जाहेरी दिएपछि प्रहरीले जेठ ३ गते नै चन्दननाथ नगरपालिका – ६ विजयनगर स्थित सडक बाट गिरफ्तार गरेको हो । रतिमनाकी पत्नी रावत गत वैशाख १९ गते हराएकी भनिएको थियो । लामो समयदेखि हराएकी रावतको शव ११ दिनपछि जेठ २ गते तिला नदीमा भेटिएको हो ।
तिला गाउँपालिका–२ लर्मीगाउँमा माइती भएकी दानसराको मृत्यु रहस्यमय भएको भन्दै छानबिन गरिदिन आग्रह गर्दै आफन्त जिल्ला प्रहरी कार्यालय जुम्लामा किटानी जाहेरी दिएका छन ।मृतकका पति रतिमानले यसअघि उनको हुलिया बताउने क्रममा प्रहरीलाई दिएको निवेदनमा नाम पानसरा बताएका थिए ।मृतक रावतको आधिकारिक र सबैले चिन्ने नाम दानसरा नै रहेको माइती पक्षका मुनबहादुर रावतले बताए ।
मृतकका पति रतिमानले प्रहरी संग हुलिया काट्दा दानसरा लाई पानसरा भनि गलत नाम दिएकाले पनि हत्या गरिएको शंका उब्जिएको हो ।
त्यस्तै जिल्ला प्रहरी कार्यालय जुम्लाका निमित्त कार्यालय प्रमुख तथा सुचना अधिकारी धर्मराज जोशीका अनुसार मृतककको शव चेकजाँच प्रकृति मुचुल्का गरी घटनास्थलको प्रराम्भिक अनुसन्धान सम्पन्न भएको छ ।मृतकको शव कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा पोष्टमार्टमपछि सासु आमा चैती पछाईलाई बुझाएको छ । उनले भने,’ आरोपित रतिमानलाई गिरफ्तार पछि जिल्ला अदालत जुम्लाबाट तीन दिनको म्याद थप गरी थप अनुसन्धान भई रहेको छ ।