‘नागरिकता विधेयक एक महिनाभित्रै टुंगो लाग्छ’

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नागरिकता विधेयक एक महिनाभित्र टुंगो लाग्ने बताएका छन्।

बिहीबार प्रतिनिधिसभा बैठकमा सांसदहरुले सोधेको प्रश्नको जवाफ दिने क्रममा उनले पुरानै विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण गराउने वा नयाँ ल्याउने भन्ने विषयमा छलफलको क्रममा रहेको बताए।

दोस्रो पटक दुवै सदनबाट पारित भएर गएको विधेयक राष्ट्रपति कार्यालयमा होल्ड भएर बसेको छ। त्यसको पोजिसन के छ ? प्रमाणीकरण गर्ने वा अरू बाटो के हुन्छ भन्ने विषयमा छलफल चलिरहेको छ।’ प्रचण्डले भने, बार एसोसियसन, संविधान र कानुनका विज्ञसँग हामीले बालुवाटारमा छलफल गरेका थियौं। पूर्व तथा वर्तमान महान्यायाधिवक्ता र विज्ञले सर्वसम्मत रुपमा राष्ट्रपतिले त्यही विधेयक प्रमाणीकरण गर्न सक्ने सुझाव दिनुभएको छ।’

उनले यस विषयमा राष्ट्रपति रामचन्द्र पौडेललाई जानकारी गराउँदा उनले पनि आफूले कानुन र संविधानविदसँग राय लिएर मात्रै टुंगोमा पुग्ने जानकारी पाएको बताए। ‘मैले बुझेसम्म उहाँ पनि अहिले छलफलकै क्रममा हुनुहुन्छ’, प्रचण्डले थपे।

उनले सदनबाट संकल्प प्रस्ताव वा अरु प्रस्तावमार्फत पुरानै विधेयक प्रमाणीकरण गर्न राष्ट्रपतिलाई अनुरोध गर्ने, मन्त्रिपरिषद्‍बाटै निर्णय गरेर राष्ट्रपतिलाई आग्रह गर्ने वा नयाँ विधेयक ल्याएर अघि बढ्ने विकल्पहरू रहेको बताए।

शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा ल्याइएको नागरिकता विधेयक प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित गरी प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पठाइएको थियो। तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले विधेयक प्रमाणीकरण नगरी पुनर्विचार गर्न फिर्ता गरेकी थिइन्।

दोस्रोपटक दुवै सदनबाट पारित गरेर पठाइएको विधेयक पनि प्रमाणीकरण गरेकी थिइनन्।

सम्बन्धित समाचार