सरकारलाई दिएको समर्थन रास्वपाले फिर्ता लियो , प्रतिपक्षमा बस्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएको विश्वासको मत फिर्ता लिएको छ । रास्वपाको आज बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले विश्वासको मत फिर्ता लिने निर्णय गरेको हो ।

‘विश्वासको मत फिर्ता लिएका छौँ । अब प्रतिपक्षमा बस्ने निर्णय भएको छ,’ बैठकमा सहभागी एक सदस्यले भने ।

सरकारसँग रास्वपाले चारवटा सर्त राखेको थियो । तर सर्त पूरा नहुने भएपछि सरकारलाई दिएको विश्वासको मत फिर्ता लिने निर्णय गरेको हो ।
जब कि गत ६ चैतमा दोस्रोपटक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई रास्वपाले सरकार बाहिर बसेर पनि विश्वासको मत दिएको थियो । तर आज भने विश्वासको मत पनि फिर्ता लिएको छ ।

१० पुसको गठबन्धनमा एमालेसँगै रास्वपा उपप्रधानमन्त्री लिएर सरकारमा सहभागी भएको थियो । तर नागिरकता प्रकरणमा पार्टी सभापति रवि लामिछानेले पद गुमाएपछि मन्त्रीलाई फिर्ता बोलाएको थियो । सरकारलाई दिएको समर्थन भने कायमै राखेको थियो ।

उपचुनावपछि परिवर्तित अवस्थामा उसले सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो । रास्वपाले समर्थन फिर्ता लिँदैमा गणितीय रुपमा प्रचण्ड सरकारलाई कुनै समस्या भने पर्दैन । किनकि हालको सत्ता गठबन्धनसँग स्पष्ट बहुमत छ ।

सम्बन्धित समाचार