कानुनी प्रक्रियामा जान जुम्लाका पीडित महिलालाई सहयोग

जुम्ला : आर्थिक अवस्था कमजोर भई कानुनी प्रक्रियामा जान नसकेकी तिला गाउँपालिका २७ वर्षीया शान्ति नेपालीलाई बैशाख २० गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालय, सुर्खेतले कानुनी प्रक्रियामा जानका लागि आर्थिक सहयोग गरेको छ ।
सरोकारवाला निकायको उपस्थितिमा सिफारिस संयन्त्रका संयोजक तथा नेपाल पत्रकार महासंघ शाखा जुम्लाका अध्यक्ष नेत्रबहादुर शाहीले पीडितलाई सहयोग हस्तान्तरण गरेका हुन् ।

३५ वर्षीय जँग नेपालीसँग ०६५ सालमा सामाजिक परम्पराअनुसार विवाह गरेकी उनका १३ वर्षीया एक छोरी र १० वर्षीय एक छोरा छन् । मदिरा सेवन गरी निरन्तर घरेलु हिंसा गर्न थालेपछि न्यायालय पुग्नु परेको उनले बताइन् । उनले भनिन्, ‘श्रीमानलाई सुधार्नका लागि धेरै कोसिस गरे पनि मदिरा सेवन गर्न छाडेनन् ।ज्यान बचाउनै मुस्किल भएपछि ०७९ फागुन २० गतेदेखि दिदी मनशोभा परियारको घरमा आश्रय लिँदै आएको उनले बताए । ‘श्रीमानदेखि आजित भएर सम्बन्धविच्छेदका लागि जिल्ला अदालत जुम्लामा ०७९ चैत २७ गते मुद्दा दर्ता गरेको छु,’ उनले भनिन् ।

यस्तै गुठीचौर गाउँपालिका– ३ गज्याङकोटकी २२ वर्षीया देवकी कामीलाई पनि न्यायिक प्रक्रियामा जानका लागि इन्सेकले आर्थिक सहयोग गरेको छ । २६ वर्षीय बागबहादुर सुनारले ०७९ चैत ६ गते दोस्रो विवाह गरेपछि न्याय खोज्दै खलंगा पुगेकी थिइन् । चन्दननाथ नगरपालिका – १ तलिचौरकी २६ वर्षीया बेलमाया नेपालसँग दोस्रो विवाह गरेको उनले बताइन् । पीडित देवकीले भनिन् श्रीमानले दोस्रो विवाह गरेपछि जिल्ला प्रहरी कार्यालयमा चैत १७ गते बहुविवाहसम्वन्धी उजुरी दर्ता गरेको छु । श्रीमान बागबहादुरसँग ०७४ मंसिर १७ गते सामाजिक परम्पराअनुसार विवाह गरेकी उहाँको एक छोरा छ । घरमा श्रीमति र छोरा हुँदाहुँदै अर्काे विवाह गरी हिंसासमेत गर्ने गरेको देवकीले बताइन् । उनले भनिन् ‘उजुरी त गरियो । तर, असुरक्षाको त्रास हुने गरेको छ । कतै एकान्तमा मार्ने हो कि भन्ने डरत्रास हुने गरेको छ ।’

पीडित दुवै जनाले न्यायिक प्रक्रियामा जानका लागि इन्सेकले गठन गरेको सिफारिस संयन्त्रलाई सहयोग मागगर्दै निवेदन दिएका थिए । सोही बमोजिम दुवै जनालाई जनही ७ हजार रुपियाँ सहयोग गरिएको सिफारिस संयन्त्रकी सदस्य तथा पत्रकार महासघ जुम्लाकी उपाध्यक्ष दिलमाया शाहीले बताइन् । उनका अनुसार हो हामीसँग कानुन छ राज्यले महिला मैत्रीकानु बनाएको छ । तर त्यहा सम्म पुग्नका लागी आर्थिक अवस्था कमजोर भएकाले आरोपितलाई दण्डित गर्न सकिरहेको अबस्था छैन ।

त्यस्तै चन्दननाथ नगरपालिका महिला तथाबालबालिका शाखाका कमला कठायतले महिला हिंसा वा सामाजिक कुरीतिबाट कर्णालीका महिला ग्रसित भएको बताइन । महिला विरुद्ध हुने जनुसुकै हिंसा, विभेदका विषयमा सबै एकजुट हुन पर्ने बताइन ।

 

 

 

सम्बन्धित समाचार