सुडानमा भएका १९ जना नेपाली सुरक्षित सम्पर्कमा आएका छन् : परराष्ट्र मन्त्रालय

 

काठमाडौं । परराष्ट्र मन्त्रालयले सुडानमा १९ जना नेपाली सम्पर्कमा आएको बताएको छ । सम्पर्कमा १९ जना नै सुरक्षित रहेको परराष्ट्र मन्त्रालयले बताएको छ । पछिल्लो समय सुडानमा सैनिक सरकार र अर्धसैनिक बलबीचको भिडन्तका कारण सुरक्षा अवस्था जटिल भएको छ ।

असुरक्षाका कारण धेरै देशले आफ्ना नागरिकको उद्धार गरिरहेका छन् । नेपालीहरु भने १९ जनाको सूची तयार भएको परराष्ट्र मन्त्रालयले सोमबार विज्ञप्ति मार्फत जानकारी दिएको छ ।

तीबाहेक तीनजना नेपाली शान्ति सैनिकहरु २३ अप्रिलमा अफ्रिकी मुलुक चाडतर्फ गएको र खार्तुमस्थित संयुक्त राष्ट्रसंघका विभिन्न निकायमा कार्यरत सातजना नेपालीले पनि २३ अप्रिलमै खार्तुमबाट सडकमार्फत रेड सीस्थित पोर्ट सुडानतर्फ प्रस्थान गरिसकेको मन्त्रालयले जनाएको छ । उनीहरु त्यहाँबाट हवाई सेवा मार्फत युगाण्डा जाने तयारी रहेको जानकारी आएको मन्त्रालयको भनाइ छ ।

परराष्ट्र मन्त्रालयले सुडानमा रहेका नेपाली नागरिकको सुरक्षा र उद्धारका लागि सरकारले उच्च सतर्कता र सबै पक्षसँग समन्वय गरिरहेको बताएको छ । इजिप्टको कायरोस्थित नेपाली दूतावासमार्फत सुडानमा रहेका नेपाली, संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा कार्यरत पदाधिकारी, सुडानस्थित अवैतनिक नेपाली वाणिज्यदूत र सुडानी निकायसँग निरन्तर सम्पर्कमा रहेर विवरण अद्यावधिक भइरहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले सुडानमा रहेका नेपाली नागरिकलाई सुरक्षित स्थानमा रहन र आपतकालीन अवस्थामा कायरोस्थित नेपाली दूतावासमा सम्पर्क गर्न आग्रह गरेको छ ।

सम्बन्धित समाचार