संसदीय समितिमा भागबण्डा, टीआरसीमा सहमति

काठमाडौँ । संसदीय समितिमा तीन दलबीच भागबण्डामा सहमति भएको छ । प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रबीच संसदीय समितिको भागण्बडामा सहमति भएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा सोमबार दिउँसो बसेको तीन दलको बैठकमा टिआरसीबारे विशेष समिति गठन गर्ने सहमति पनि भएको छ । एमालेले टिआरसीबारे समिति बनाएर छलफल हुनु पर्ने अडान राख्दै आएको थियो ।

संसदीय समितिमा तीन समितिको नेतृत्व एमालेलाई दिने सहमति भएको हो । संघीय संसदका २ विशेष समितिमध्ये एमालेले राज्यका निर्देशक सिद्धान्त अनुगमन तथा निर्देशन विशेष समितिको सभापति पाउने भएको छ ।

संसदीय सुनुवाई समितिको भने सभापति कांग्रेसले पाउने भएको छ । १५ सदस्यीय सुनुवाइ समितिमा कांग्रेस र एमालेबाट ४–४ जनाको सहभािगता रहने छ भने बाँकी ७ जनामा माओवादी, रास्वपा, राप्रपा, जसपा, एकीकृत समाजवादी लगायतका दलबाट प्रतिनिधित्व गरिने छ ।

१० वटा विषयतगत समितिमा सार्वजनिक लेखा समिति र थप एक समितिको सभापति पनि एमालेले पाउने सहमिति भएको एमाले संसदीय दलका प्रमुख सचेतक पदम गिरीले बताए ।

विपक्षीलाई पनि संसदीय समितिमा भागबण्डा दिएर नयाँ पद्धतिको विकास गरेको कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले बताए । उनका अनुसार संघीय संसदका १२ वटा समिति मध्ये एमालेले तीन वटा समितिको नेतृत्व गर्ने छ ।

‘एमालेले एउटा संयुक्त र दुई वटा विषयगत गरी तीन वटा समितिको सभापति लिने भयो,’ उनले भने, ‘विपक्षीलाई पनि समिति बाढ्ने एउटा पद्धति विकास गरौं । एउटा लेखा पाउथ्यो नै अब दुई वटा पाउने भयो ।’

एमाले प्रमुख सचेतक गिरीका अनुसार संवैधानिक परिषद सम्बन्धी विधेयक सिधै संसदमा लगेर पारित गर्ने सहमति भएको छ । १५ सदस्यीय संसदीय विशेष समिति गठन गरेर टीआरसीको विषय टुंग्याउने सहमति भएको लेखकले जानकारी दिए ।

छलफलमा कांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख सचेतक रमेश लेखक थिए । माओवादीबाट प्रधानमन्त्री पुष्पकमल पुष्पकमल दाहाल प्रचण्डसहित प्रमुख सचेतक हितराज पाण्डे सहभागी थिए । एमालेका अध्यक्ष केपी ओली, संसदीय दलका उपनेता सुवास नेम्वाङ र प्रमुख सचेतक पदम गिरी सहभागी थिए ।

सम्बन्धित समाचार