माओवादी तनहुँको माग हाम्रै पार्टीको उम्मेदवार चाहिन्छ

काठमाडौँ । नेकपा माओवादी केन्द्रका तनहुँबाट प्रतिनिधित्व गर्ने जिल्लाका नेताहरूले आफ्नै पार्टीको उम्मेदवार बनाउनु पर्ने माग अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग राखेका छन् । आइतबार तनहुँबाट आएका नेताहरुले प्रधानमन्त्री ‘प्रचण्ड’ लाई भेटेर तनहुँ १ बाट पार्टीकै आधिकारिक उम्मेदवार उठाउनुपर्ने दबाब दिएका हुन् ।

नेपाली कांग्रेसबाट गोविन्दराज भट्टराई, एमालेबाट सर्वेन्द्र खनाल र राष्ट्रिय स्वतन्त्र पार्टीबाट स्वर्णिम वाग्लेले उम्मेदवारी दिने तयारी गरेका छन् । माओवादीले पनि आफ्नै उम्मेदवार उठाएर जानुपर्ने भन्दै शनिवार प्रधानमन्त्री निवास बालुवाटार पुगेर दबाब दिएको प्रधानमन्त्री सचिवालयका एक सदस्यले बताए । गठबन्धनको नाममा अरूलाई सघाउँदा पार्टी कमजोर हुने तनहुँ माओवादीका नेताहरूले बताउँदै आएका छन् ।

तनहुँबाट प्रतिनिधित्व गर्ने पार्टी कोषाध्यक्ष श्रीराम ढकाल, केन्द्रीय सदस्य आशा कोइराला, गण्डकी प्रदेशका भौतिक मन्त्री हरिबहादुर चुमान, जिल्ला संयोजक मदन आले लगायत नेताहरुले प्रधानमन्त्रीलाई आफ्नै उम्मेदवार उठाउन दबाब दिएका हुन् । लगत्तै कोषाध्यक्ष ढकालले आफू चुनाव नलड्ने पार्टीले भने कुनै न कुनै उम्मेदवार उठाउनुपर्ने माग गरेका थिए ।

‘तनहुँमा माओवादी तेस्रो भए पनि राम्रो मत छ । यत्तिकै अरूलाई छोड्न हुँदैन । पार्टीले कुनै न कुनै नेतालाई उठाउनुपर्छ भन्ने सुझाव दिनुभएको छ’ प्रधानमन्त्री सचिवालयका ती सदस्यले भने, ‘यदि उम्मेदवार नउठाएमा मतको सुरक्षा हुँदैन । सङ्गठन झन् बिग्रन्छ । जसरी पनि पार्टीले उम्मेदवार उठाउनुपर्छ भन्ने छ ।’ पार्टी सङ्गठन बलियो बनाउन पनि उम्मेदवार उठाउनुपर्ने नेताहरूले सुझाव दिएका छन् ।

सम्बन्धित समाचार