काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले बहालवाला प्रधानमन्त्रीमाथि मुद्दा लगाउनु भनेको माओवादीलाई जिस्क्याउनु रहेको टिप्पणी गरेका छन् ।
आइतबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै भट्टराईले तीन वर्षअघिको भनाइको सामान्य कुरालाई लिएर बहालवाला प्रधानमन्त्रीलाई गिरफ्तार गर्ने मुद्दा लगाउ भन्नु माओवादी आन्दोलनलाई जिस्क्याउनु भएको बताएका हुन् ।
उनले पछिल्लो समय माओवादी ‘जनयुद्ध’लाई अपराधीकरण गर्ने प्रवृत्ति हाबी भएको आरोप लगाए । उनले यसविरुद्ध सबै माओवादीहरू एक ठाउँमा उभिन आवश्यक रहेको बताए । अध्यक्ष भट्टराईले यस्ता मुद्दाहरूमा सबै माओवादीहरू एक ठाउँमा उभिनुपर्ने आह्वान गर्दै यी मुद्दाहरूमा कार्यगत एकता गरेर अघि बढ्न आवश्यक रहेको बताए ।
पूर्वप्रधानमन्त्री भट्टराईले माओवादी विभाजित भए पनि अब मिलेर जानुपर्ने बेला आएको बताए । उनले आफ्नो ठाउँबाट सबैले आफ्ना गल्ती र कमजोरी महसुस गरेर अघि बढ्नु नै देश र जनताका लागि कल्याणकारी हुने बताए ।