भूकम्प आउने हल्ला चलेपछि जुम्ला,मुगु , जाजारकोट र बाजुराका बासिन्दा रातभर बाहिर बसेका छन्।
भूकम्पको हल्ला फैलिएपछि स्थानीय घर छाडेर खेतबारी र सडकमा बस्न बाध्य भएका हुन्। भूकम्प आउँदैछ भन्ने हल्ला चलेपछि कठ्यांग्रिदो चिसोमा मानिसहरू बाहिर बसेका तस्विर सामाजिक सञ्जालमा समेत छ्याप्छ्याप्ती भए।
महिला, बालबालिका तथा वृद्धवृद्धा बढी त्रासमा परे। भूकम्पको हल्ला गर्दै हुम्ला, मुगु जाजरकोट, जुम्ला र बाजुराका नागरिकहरु चिसोमा रातभर घर बाहिर बसाइएको पाइएको छ। यसरी हल्ला फैलाउने मान्छे कोहो भन्ने कुरा एकिन छैन । यसरी हल्ला फैलाउनेलाई कारबाहीका लागि प्रशासनलाई नागरिकले सघाउनुपर्ने समाजिक संञ्जालमा उल्लेख गरेका छन ।
जुम्लाका प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केसरीले भूकम्पबारेको जिज्ञासासहित रातभर फोन आएको बताए। ‘रातभर फोनले हैरान पार्यो। मानिसहरूलाई दुःख दिनेको खोजी गरी कारबाही गर्नेछौँ’, उनले भने। उनले यो हल्लाको पछि नलाग्न र सचेत हुन सुझाव दिए। भूगर्भविद्हरू पनि भूकम्पकोपूर्वानुमान गर्न नसकिने भएकाले त्रासमा पर्न नहुने बताउँछन्।