काठमाडौं । काठमाडौंबाट पोखराका लागि उडेको यती एयरलाइन्सको विमान दुर्घटना हुँदा सो विमानमा रहेका ७२ जनामध्ये ६८ जनाको मृत्यु भएको छ । विमानमा चालक दलका चार जनासहित ७२ जना थिए । अहिलेसम्म ६८ जनाको शव फेला परेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
चार जनाको अवस्था भने अझै अज्ञात छ । उनीहरूको खोजी भइरहेको छ । नदीमा बगेको हुन सक्ने भन्दै उनीहरूको खोजी सशस्त्र प्रहरीका गोताखोरले गरिरहेका छन् । मृतकमध्ये ११ जनाको सनाखत भएको छ । अन्यको सनाखत गर्ने क्रम जारी छ ।
विमान चालक दलका सदस्यहरूमा पाइलट कमल केसी, को पाइलट अञ्जु खतिवडा, एयरहोस्टेज सिर्जना होगथुन र ओसिन आलेमगर थिए ।
आइतबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि उडेको यती एयरलाइन्सको एटीआर विमान पोखरा विमानस्थलनजिकै सेती नदीको खोँचमा दुर्घटनाग्रस्त भएको थियो । विमान खोँचमा ठोक्किएपछि आगो लागेको थियो ।
विमानमा ५३ जना नेपाली र अन्य विदेशी नागरिक थिए । भारतीय नागरिक ५ जना, रुसी नागरिक ४ जना, कोरियन नागरिक २ जना, एक जना अस्ट्रेलियन, एक जना आइरिस र एक जना अर्जेन्टिनाका नागरिक थिए ।
सबैको घटनास्थलमै मृत्यु भएको हो । पोखरास्थित गण्डकी क्षेत्रीय अस्पतालमा ल्याउँदा सबैको मृत्यु भइसकेको अस्पताल जनाएको छ ।
दुर्घटनाबारे छानबिन गर्न सरकारले पाँच सदस्यीय जाँचबुझ आयोगसमेत बनाएको छ । आइतबारै बसेको आस्मिक मन्त्रिपरिषद् बैठकले पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा जाँचबुझ आयोग बनाएको हो । आयोगलाई प्रतिवेदन दिनका लागि ४५ दिनको समय दिइएको छ । सरकारले सबै वायु सेवा कम्पनीलाई सबै विमानको प्राविधिक परीक्षण गराउनसमेत निर्देशन दिएको छ ।