काठमाडौँ :नेपाली बजारमा सुनको भाउ प्रतितोला ७० हजार नजिक पुगेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा प्रतिऔस २७ अमेरिकी डलर बढेर यहाँ भाउ ७० हजार रुपैयाँ नजिक पुगेको हो ।
‘मंगलबार प्रतितोला ६८ हजार रुपैयाँ थियो। बुधबार एकदिनै १५ सय रुपैयाँ बढेर ६९ हजार ५ सय रुपैयाँ पुगेको छ,’ महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यले भने, ‘यो मूल्य अर्को रेकर्ड हो।’ शाक्यका अनुसार मंगलबार अन्तर्राष्ट्रिय बजारमा प्रतिऔस १४ सय ५९ अमेरिकी डलरमा कारोबार भएको थियो। बुधबार बढेर प्रतिऔस १४ सय ८६ अमेरिकी डलर पुगेको छ।
व्यवसायीका अनुसार न्युर्योक बजारले २०१९ को अन्तसम्म प्रतिऔस १५ सय डलर पुग्ने प्रक्षेपण गरेको थियो। यही क्रममा बृद्धि भए एक/दुई दिनमै उक्त मूल्य भेट्ने उनीहरुको भनाइ छ। ‘मूल्यमा दैनिक नयाँ रेकर्ड कायम भएपछि सुन बिक्री छैन, व्यवसायीले किन्न पनि सकेका छैनौं,’ शाक्यले भने, ‘पूँजीले भ्याउने अवस्था पनि भएन। अब व्यवसायी बन्द गर्ने अवस्थामा पुगेका छौं। पूँजी सकिएपछि खरिद गर्न सकिँदैन।’