प्रधानमन्त्रीले विश्वासको मत पाउने कुरामा ढुक्क छु, चुनौती पनि छन् : केपी ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत पाउने कुरामा आफू ढुक्क रहेको दाबी गरे। प्रतिनिधिसभाको पहिलो बैठकमा सम्वोधन गर्दै अध्यक्ष ओलीले विश्वासको मत पाउनुका साथसाथै चुनौती पनि रहेको बताएका छन् । उनले सरकारका लागि सहज परिस्थिति भने नरहेको बताए । नयाँ चुनावपछि देशले परिवर्तन खोजिरहेको बताउँदै अहिले सरकार गठनबाटपनि परिवर्तन देखिएको बताए ।

उनले देश र जनताको लागि काम गर्नका लागि सांसद र सरकार भएर आएको बताउँदै जनताले केही नयाँ परिवर्तनको आशा राखेर नयाँ राजनीतिक पार्टी संसदमा आएको उल्लेख गरे । व्यक्तिको मानसम्मानका लागि नभई देश चलाउन, देशमा उन्नती प्रगति गर्न र जनताका लागि काम गर्न सरकार बन्नुपर्ने बताउँदै त्यसैअनुसार काम गर्नुपर्नेमा जोड दिए । उनले नयाँ दलहरुलाई शुभकामना पनि ब्यक्त गरे ।

उनले विभिन्न चुनौतीहरु रहेको बताउँदै त्यसको समाधानका लागि काम गर्नुपर्ने बताए । अध्यक्ष ओलीले भने– ‘हाम्रा अगाडि धेरै चुनौतीहरु रहेका छन् । सुशासनको चुनौती छ, भष्टाचार निर्मुल गर्ने चुनौती छ, हिजोका विभिन्न आन्दोलनका घाउहरु तिनीहरुकोमा मल्हमपट्टी गर्ने चुनौती छ । जनताका विभिन्न अपेक्षाहरु छन् । अहिले पनि विभिन्न राजबन्दीहरु तत्सम्बन्धी समस्याको समाधान गर्नुछ । शान्ति प्रक्रियालाई टुङ्गोमा पुग्नुपर्ने यी चुनौतीहरु छन् । अब हामीले एउटा गम्भीर शिक्षा लिनुपर्छ । अब हामी लोकतान्त्रिक मूल्य मान्यतामा चल्नुपर्छ ।’

ओलीले आफूले गरेको प्रतिनिधिसभा विघटनको प्रतिरक्षा गरेका छन् । ओलीले भने, ‘एकताका नेपालमा बढो हल्ला चलाइयो । प्रतिनिधिसभा विघटन प्रतिगमन हो भनेर । बेलायतमा कति पटक प्रतिगमन भएछ भएछ त्यसो भए । संसदको जन्मजात देशमा अस्तिसम्मपनि प्रतिगमन भएको थियो । त्यति धेरै जान्ने पनि नहोउँ कि । मौका अनुसारको यति धेरै ब्याख्याप नि नगरौँ कि जस्तोपनि लाग्छ । प्रतिनिधिसभा भंग हुनु प्रतिगमन हैन, जनताका अधिकारका लागि जनतामा जानु र सार्वभौम अधिकारबाट आदेश प्राप्त गर्नु प्रतिगमन हैन ।’

उनले संसदबाट सरकार बन्नु र ढल्नु प्रतिगमन नभएको जिकिर गरे । उनले भने, ‘अन्यत्र लगेर सरकार ढाल्ने काम गरियो भने प्रतिगमन हुन्छ । अहिलेको गठबन्धन प्रगितमनको पक्षमा छैन्, जाँदैन ।’ अहिलेको गठबन्धन दल कु ठाउँबाट सरकार बनाउँने ठाउँमा नजाने उनले बताए ।

सम्बन्धित समाचार