एमयुका क्याम्पस प्रमुखहरुसँगको बैठक सम्पन्न

सुर्खेत: मध्यपश्चिमान्चल विश्वविद्यालयका निमित्त रजिष्ट्रार ई.अनन्तराज घिमिरेको अध्यक्षतामा वीरेन्द्रनगर सुर्खेत स्थित केन्द्रीय कार्यालयमा आज परीक्षा ब्यास्थापन प्रमुख सहित केन्द्रीय क्याम्पसका उपलब्ध क्याम्पस प्रमुखहरुसँगको बैठक सम्पन्न भएको छ । विश्वविद्यालयको विभिन्न संकाय अन्तर्गत भैरहेको भर्ना अभियानलाई सुब्यबस्थित गर्दै परीक्षा प्रणालीमा सुधार तथा एकीकृत शैक्षिक क्यालेण्डर निर्माण लगायतका विषयवस्तु उपर बैठकमा छलफल एवम् निर्णय भएको हो ।
बैठकमा निमित्त रजिष्ट्रार घिमिरेले परीक्षा ब्यबस्थापन प्रमुख तथा क्याम्पस प्रमुखहरुको रिपोर्टिङ सुनिसकेपछि शैक्षिक गुणस्तर कायम गरी विश्वविद्यालयलाई चुस्तदुरुस्त बनाउने अभियानमा एकताबद्ध भै अघि बढ्न निर्देश गर्नुभयो । निमित्त रजिष्ट्रारको हैसियतमा केन्द्रीय परीक्षा समितिको अध्यक्ष समेत रहनुभएका घिमिरेले यसबारे मूर्त योजना बनाउनका लागि तत्काल सरोकारवालाहरुको उपस्थितिमा कार्यशाला गोष्ठीको आयोजना गर्न समितिका सदस्य सचिव एवम् परीक्षा ब्यबस्थापन प्रमुख डा.आनन्द प्रसाद सुवेदीलाई निर्देशन दिनुभयो ।








