काठमाडौं । मंसिर ४ गते भएको प्रतिनिधिसभा सदस्यकाको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । निर्वाचन आयोगका अनुसार कुल १६५ निर्वाचन क्षेत्रमध्ये आइतबार बिहानसम्म १५४ वटा सिटको टुङ्गो लागेको छ भने अझै ११ वटा क्षेत्रको परिणाम आउन बाँकी छ ।
हालसम्म सबैभन्दा धेरै नेपाली कांग्रेसले ५२ वटा विजयी भएको छ । नेकपा एमालेले ४० वटा क्षेत्रमा विजयी भएको छ।
त्यसैगरी नेकपा माओवादी केन्द्रले १७, नेकपा एकीकृत समाजवादीले १० र राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी सातरसात क्षेत्रमा विजयी भएका छन् । साथै, जनता समाजवादी पार्टीले छ, लोकतान्त्रिक समाजवादी पार्टी, नेपालले ४, नागरिक उन्मुक्ति पार्टीले ३ क्षेत्र तथा पाँच जना स्वतन्त्र उम्मेदवारहरुले जित हासिल गरेका छन् ।
निर्वाचन आयोगका अनुसार अझैसम्म पनि ११ स्थानको नतिजा आइसकेको छैन । केही स्थानमा मतगणनामा ढिलाइ हुँदा नतिजा आएको छैन भने केही स्थानमा मतगणना सुरु हुन सकेको छैन । साथै, बाजुरामा शनिबार पुनः मतदान भएकाले मतगणनामा ढिलाइ भएको हो ।
हालसम्म दोलखा १, स्याङ्जा २, सुनसरी १, ३ र ४, बाजुरा, इलाम १, उदयपुर १, महोत्तरी १ र रामेछापको नतिजा आउन सकेको छैन । दोलखा १ मा निर्वाचन सम्पन्न भए पनि मतगणना सुरु हुन सकेको छैन । राजनीतिक दलहरूबीच सहमति नजुट्दा मतगणना सुरु हुन नसकेको हो । त्यसैगरी स्याङ्जा–२ मा दलहरूबीच मतगणनाका लागि सहमति जुटेको छैन ।
सुनसरी १ मा भने मतगणना जारी छ । उक्त क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङले अग्रता लिइरहेकी छन् भने उनलाई जनता समाजवादी पार्टीका अशोककुमार पछ्याइरहेका छन् । सुनसरी ३ मा एमालेकी भगवती चौधरी अग्रस्थानमा छिन् भने नेपाली कांग्रेसका विजयकुमार गच्छदार पछ्याइरहेका छन् ।
सुनसरी ४ मा सञ्चार तथा सूचना प्रविधिमन्त्री समेत रहेका नेपाली कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की अग्रस्थानमा छन् भने एमालेका जगदिशप्रसाद कुसियैत दोस्रो स्थानमा छन् ।
बाजुराको बूढीनन्दा नगरपालिका ५ मा शनिबार पुनः मतदान भएकाले मतगणनाको काम सुरु हुन सकेको छैन । इलाम १ मा एमालेका महेश बस्नेत अग्रस्थानमा छन् भने नेकपा एकीकृत समाजवादीका झलनाथ खनाल दोस्रो स्थानमा छन् ।
उदयपुर १ मा कांग्रेसका नारायण खड्का पहिलो स्थानमा छन् भने एमालेकी मञ्जुकुमारी चौधरी दोस्रो स्थानमा छिन् । महोत्तरी १ मा एमालेकी लक्ष्मी महतो कोइरी २३ हजार ४२० मतका साथ पहिलो स्थानमा छन् भने माओवादी केन्द्रका गिरिराजमणि पोखरेल पछ्याइरहेका छन् ।
रामेछापमा कांग्रेसका पूर्णबहादुर तामाङ अग्रता लिइरहेका छन् । उनलाई एमालेका कैलाशप्रसाद ढुङ्गेलले पछ्याइरहेका छन् ।