देउवा–प्रचण्ड नयाँ सरकार गठनका लागि सक्रिय
काठमाडौं । शनिबार प्रधानमन्त्री तथा कांग्रेस सभापति र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।
४ मंसिरको चुनावमा सत्ता गठबन्धनले सामान्य बहुमत ल्याउने देखिएपछि नयाँ सरकार र आगामी रणनीति बनाउन देउवा र प्रचण्ड सक्रिए भएका छन् ।
देउवाको आग्रहमा केही दिनअगाडि प्रचण्डले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई जेलमै गएर भेटेका थिए । नागरिक उन्मुक्ति पार्टीले प्रतिनिधिसभामा ४ सिट जितेको छ । सो चार सिट बहुमत बलियो बनाउन सत्ता गठबन्धनलाई महत्त्वपूर्ण हुने देखिएकाले प्रचण्डले चौधरीलाई भेटेका हुन् ।
शनिबार देउवा र प्रचण्डबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेट भएको छ । सो भेटमा चुनावी समीक्षा र आगामी रणनीतिबारे छलफल भएको छ । प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाका अनुसार दुई नेताबीच छिट्टै पाँचदलीय गठबन्धनको बैठक बोलाउने सहमति भएको छ । उनले भने, ‘अहिले नेताहरू काठमाडौंबाहिर हुनुहुन्छ । उहाँहरू काठमाडौं आएपछि गठबन्धनको बैठक बस्ने कुरा भएको छ ।’
आमचुनावको अन्तिम परिणाम आउन अझै केही दिन लाग्ने भए पनि पाँचदलीय गठबन्धनको बहुमत पुग्ने लगभग पक्काजस्तै छ । सातै प्रदेशमा पनि यही गठबन्धन बहुमत पुग्ने अवस्थामा छ । त्यसैले अन्तिम परिणाम आउनुअघि नै सत्ता गठबन्धन नयाँ सरकारको गठन तयारीबारे छलफलमा जुटेको हो ।