काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले काठमाडौं क्षेत्र नम्बर ५ बाट विजयी भएका छन् । एमालेका हेभिवेट नेता तथा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई ५ हजार ६५ मतान्तरले विजयी भएका छन् ।
मतगणनाको अन्तिम परिणामअनुसार पौडेलले १५ हजार २३७ मत पाएका छन् भने एमालेका पोखरेलले १० हजार १७२ मत पाएका छन् ।
अघिल्लो चुनावमा तनहुँबाट प्रदेशसभामा लडेका पौडेल माओवादी केन्द्रकी आशा कोइरालासँग ११ मतले पराजित भएका थिए । वाम गठबन्धनकी उम्मेदवार कोइरालासँग पराजित भएपछि पौडेलले मतदानको क्रममा धाँधली भएको भन्दै पुनः मतदान गराउन माग गर्दै मुद्दा हालेका थिए । पौडेलले हालेको उक्त मुद्दाको छिनोफानो अहिलेसम्म भइसकेको छैन ।
विद्यार्थी राजनीतिबाट उदाएका पौडेल कांग्रेसको १४औँ महाधिवेशनमा महामन्त्रीका उम्मेदवार थिए । तर त्यसबेला उनी गगन थापा र विश्वप्रकाश शर्मासँग पराजित भएका थिए ।
काठमाडौं ५ बाट अघिल्लो चुनावमा ईश्वर पोखरेलले कांग्रेसका डा। प्रकाशशरण महतलाई पराजित गरेका थिए । तर, यसपटक भने कांग्रेसका युवा उम्मेदवार पौडेलसँग पोखरेल पराजित भएका हुन् ।