काठमाडौं । निर्वाचन आयोगले काठमाडौं जिल्ला लगायतका केही जिल्लामा आज रातिबाट मतगणना हुने जनाएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले मतदान सम्पन्न भएका सबै मतदान स्थलबाट मतपेटिकाहरु निर्वाचन अधिकृतको कार्यालयमा ढुवानी भइरहेको भन्दै काठमाडौं लगायतका केही जिल्लामा आजै रातिबाट मतगणना सुरु हुने बताएका हुन् ।
‘मतपेटिका गणनास्थलमा ल्याएपछि दलीय सहमति जुटाएर काठमाडौं उपत्यका लगायत केही जिल्लाहरूमा आज रातिदेखि नै गणना सुरु गर्ने र अन्य स्थानमा मतपेटिका सुरक्षितसाथ तत्काल मतगणना प्रारम्भ गर्न निर्देशन दिइएको छ’, प्रमुख निर्वाचन आयुक्त थपलियाको भनाइ छ ।
प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा ६१ प्रतिशत मत खसेको जनाएको छ । निर्वाचन आयोगले शान्तिपूर्ण र उत्साहजनक सम्पन्न भएको भन्दै निर्वाचन सम्पन्न गराउने संलग्न सबैलाई आभार प्रकट गरेको छ ।
‘प्रारम्भिक विवरण अनुसार ६१ प्रतिशत मतदान भएको छ तर यो बढ्न पनि सक्छ । यो परिणाम अपेक्षा भन्दा कमी हो’, प्रमुख आयुक्त थपलियाको भनाइ छ ।