महोत्तरीको पररियामा भएको विवाद साम्य, ८ बुँदे सहमति

काठमाडौं । महोत्तरीको भंगहा नगरपालिका– ८ स्थित पररियामा भएको विवाद साम्य भएको छ । बिहिबार भएको विवादले उग्र रुप लिएपछि स्थानीय प्रशासनले कफ्यु लगाएको थियो ।
शुक्रबार स्थानीय समुदाय र प्रशासनबीच ८ बुँदे सहमति भएको छ । बिहीबार हिंसात्मक घटना भएकोमा शुक्रबार सर्वदलीय बैठक बसी उक्त सहमति गरेको हो ।

बिहीबार पररियामा विवाद बढ्दै गएपछि झडप भएको थियो । स्थितिलाई नियन्त्रणमा लिन प्रशासनले कर्फ्युको आदेश जारी गरेको थियो । सोही विवाद समाधानका लागि आज आठबुँदे सहमति भएको हो ।

शुक्रबार बिहान भएको बैठकले घटनाको छानबिनका लागि उच्चस्तरीय छानबिन समिति गठन गर्ने, दोषीलाई कारबाही गर्ने, घाइहरूको उपचारमा लाग्ने खर्च ब्यहोर्न नेपाल सरकारसँग माग गर्ने सहमति भएको छ ।

त्यस्तै, दुवै पक्षले धार्मिक सद्भावका लागि आह्वान गर्ने, क्षतिको विवरण संकलन गरी क्षतिपूर्तिका लागि नेपाल सरकारसँग माग गर्नेलगायतको सहमति भएको हो ।

त्यसैगरी, सामाजिक सद्भाव र्‍याली निकाल्ने, दलगत रूपमा शान्ति कायम गर्न अपिल गर्ने सहमति पनि भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

बैठकमा लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता तथा महोत्तरी क्षेत्र नम्बर २ का उम्मेदवार शरतसिंह भण्डारी, नेपाली कांग्रेसका जिल्ला सभापति नागेश्वर यादव, लोसपाका नेता जयनुल राइनलगायतका नेताहरूको सहभागिता थियो ।