पहाडी भू भागमा सामान्य वर्षामा पनि पहिरो जान सक्ने भएकोले सतर्क रहन आग्रह ।।
आगामी तीनदिनसम्म मनसुन कम सक्रिय हुने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार न्यून चापिय रेखा तराई भू भाग भन्दा दक्षिण तिर सर्दै गएकोले नेपालमा मनसुनी गतिविधि कम सक्रिय अवस्थामा रहेको हो । मौसमविद् विभुति पोखरेलका अनुसार हाल देशभर सामान्य बदली भई थोरै स्थानहरुमा वर्षा भईरहेको छ । आज दउँसो देशभर आंशिकदेखि सामान्य बदली रही देशका केहि स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको उहाँले बताउनुभयो । यस्तै, राति देशभर आंशिकदेखि सामान्य बदली रहि देशका केहि स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको पनि उहाँले जानकारी दिनुभयो । भोली दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही देशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुने र राति देशभर आंशिकदेखि सामान्य बदली रहि देशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले मनसूनको समयमा दिनहुँ वर्षा हुँदा पहाडी भू भागहरुमा सामान्य वर्षामा पनि पहिरो जान सक्ने भएकोले सतर्क रहन अनुरोध गरेको छ ।








