काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धनका पार्टीहरु मिलिसकेकाले कार्यकर्तालाई झगडा नगर्न निर्देशन दिएका छन् । उनले कांग्रेस नेताकार्यकर्तालाई गठबन्धनको पक्षमा मत हाल्न आग्रह गरेका छन्।
पाँच दलीय गठबन्धनले पोखरामा आयोजना गरेको संयुक्त भेलालाई सम्बोधन गर्दै कांग्रेस सभापति समेत रहेका देउवाले गठबन्धनको पक्षमा मत हाल्न कांग्रेस कार्यकर्तालाई आग्रह गरेका हुन्।
फरक राजनीतिक दर्शन बोकेका माओवादी अध्यक्ष प्रचण्ड र आफूबीच नै सहमति भइसकेपछि कार्यकर्ता पंक्ति झन मिल्नुपर्ने उनको तर्क थियो ।
उनले हिजो गिरिजाप्रसाद कोइराला र प्रचण्डबीच नै सहकार्यको सहमति भएको जिकिर गर्दै उनले थपे, ‘यहाँ हिजोका कुरा ल्याएर केही पाइनेवाला छैन। हिजोका कुरा सम्झिएर हुनेवाला केही छैन। सबै रिसाएका छन, गठबन्धन बन्दै गए सबैको पालो आउँछ। सरकार बने न पालो आउँछ। हामी माथी मिल्यौँ तल किन मिल्न नहुने ? झनबढी मिल्नुस।’