नेकपा एसका पोलिटब्युरो सदस्य सुनार माओवादी केन्द्रमा प्रवेश

काठमाडौं । नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य तथा लुम्बिनी प्रदेश सहईन्चार्ज दलबहादुर सुनार नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । एक कार्यक्रमबीच आज सोमबार उनी माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।

सुनार संविधानसभा सदस्य तथा पूर्वमन्त्री हुन् । उनले बाँके ३ (क) बाट प्रदेशसभामा स्वतन्त्र उम्मेदवारी दिएका थिए । गठबन्धनले प्रदेशमै एकीकृत समाजवादीको उम्मेदवारी शून्य पारिएको भन्दै सुनारले स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

बाँके ३ मा उनी लोकप्रिय दलित नेताका रूपमा परिचित छन् । २०५४ मा एमाले विभाजन भई मालेका तर्फबाट २०५६ मा चुनाव लड्दासमेत उनले ८ हजार ८ सय ३६ मत ल्याएका थिए ।