जुम्ला ः मानवअधिकार रक्षक संजाल तथा नागरिक अगुवाको टोलीले चन्दननाथ नगरपालिका जुम्लाका प्रमुखसहित नगर कार्यसमितिको हिंसा पीडित महिलाको राहत कोष स्थापना गर्न ध्यानाकर्षण गरिएको छ । मानवअधिकार रक्षक संजाल तथा नागरिक अगुवा संयोजक राजबहादुर महतसहितको टोलीले ध्यानाकर्षण गरेको हो ।
आगामी आर्थिक वर्ष ०७९÷८० को लागि नीति तथा कार्यक्रम छलफल तथा असार १० गते गाउँ तथा नगर सभाबाट नीति तथा कार्यक्रम सार्वजनिक गर्नु पूर्व चन्दननाथ नगरपालिका सहित अन्य पालिकाको ध्यानाकर्षण गरिएको मानवअधिकार रक्षक संजाल तथा नागरिक अगुवा संयोजक महतले बताउनु भयो । उहाँले भन्नुभयो जिल्लामा विपन्न तथा हिंसा पीडित महिला, बालबालिकाहरुको राहत र पुर्न स्थापनाका लागि कोषसहित पुर्नस्थापना गृह अवश्यक रहेकोले राहत कोष र पुर्नस्थापना गृह स्थापना गर्न माग गरिएको हो ।
हिंसा पीडित महिला तथा बालबालिकाहरुको राहत तथा औषधि उपचार र कानुनी उपचारका लागि पालिका स्तरीय राहत कोष स्थापना गर्न सुझाएको हो । चन्दननाथ नगरपालिकामा भौतिक रुपमै उपस्थितिमा ध्यानाकर्षण पत्र बुझाएको छ भने अन्य गाउँपालिकामा इमेलमार्फत पठाएको छ ।
यस्तै जिल्लाको खाद्य सुरक्षा सुनिश्चित गर्न पनि माग गरिएको छ । कृषिमा आत्म निर्भर तथा आयआर्जन गर्नका लागि यहाँका नदी तथा खोलाहरु आवश्यक अनुरुप प्रयोग गर्न सकिने अवस्थामा रहेकाले सिचाई योग्य जमीन भुगोलको उपयोग गरी खाद्य सुरक्षाको सुनिश्चिता गर्न स्थानीय तहलाई ध्यानाकर्षण मार्फत सुझाएको संयोजक महतले बताउनु भयो । रैथाने बाली, स्याउ ओखर लगायत अन्य कृषि जन्यबस्त फलफुल, आलु तरकारी उत्पादनमा बृद्धि गर्नुका साथै बजारीकरणको व्यवस्थापनमा राज्यको दायित्व हो । पालिका स्तरीय सुविधायूक्त सित भण्डारको पनि निर्माण गर्न माग गरिएको छ ।
माग पत्र बुझ्दै चन्दननाथ नगरपालिका नगरप्रमुख राजुसिंह कठायतले विपन्न तथा सिंह पीडित महिला तथा बालबालिकाको राहत कोष र पुर्नस्थापना गृहको स्थापनाको सवै कोणबाट कुरा उठेको बताउनु भयो । उहाँले भन्नुभयो आवश्यकता पनि महशुस भएकोले नीति तथा कार्यक्रममा समाबेश गरिने छ ।