फोटोफाइल
काठमाडौं : फोहोर काठमाडौंलाई सफा स्वस्थ हराभरा बनाउने प्रतिवद्धता गठबन्धनका तर्फबाट काठमाडौंमा प्रमुखकी उमेदवार सिर्जना सिंहले प्रतिबद्धता जानएकी छन । शान्ती, न्याय र लोकतन्त्रका लागी समावेशी महिला सञ्जाल संकल्प र महिला गैरासरकारी संस्था महासंघको संयुक्त आयोजनामा सोमबार काठमाडौंमा सम्पन्न कार्यक्रममा कांग्रेस नेतृ सिंहले यस्तो प्रतिवद्धता गरेकी हुन ।
उनले भनिन ्आफूले अन्धकारमय काठमाडौंलाई उज्यालो बनाएर सबैको लागि सुरक्षित काठमाडौं बनाउने बताइन् ।
त्यस्तै वर्षौंसम्म सक्रिय राजनीति गरे पनि कहिले पदको अपेक्षा नगरेको उनको भनाइ छ । महानगरको हकमा युवाहरुलाई खेलकुदमा प्रोत्साहन गर्ने,पर्यटकीय,व्यापारिक केन्द्र बनाउने,स्वदेशमै रोजगारको सिर्जना गरेर वैदेशिक रोजगारमा जाने क्रमलाई न्युनीकरण गर्ने लगायतका कामहरु प्राथमिकतामा राखेर काम गर्ने कांग्रेस नेतृ सिंहले बताइन्।
संकल्पकी बरिष्ठ उपाध्यक्ष शोभा बस्नेतले संचालन गरेको कार्यक्रममा नेपाली कांग्रेसका तर्फबाट टोखा नगरपालिकामा मेयरको उम्मेदवार बनेकी रजनी थापाले महिलाले महिलाको खुट्टा तान्ने प्रवृत्ति त्याग्नस पर्ने बताइन । उनले महिलाका साँझा मुदामा हात तानेर माथि उठाउनुपर्ने बताइन् ।
कार्यक्रममा थापाले भनिन्, ‘महिलाको बाधक महिला नै हुन्छन् भनेर हामी माथिको आरोप छ । सासू,बुहारी,नन्द, अमाजु एकले अर्कोलाई साथ दिएर हिँड्ने हो भने हामीलाई कसैले रोक्न सक्दैन ।
यो अभ्यास घरबाटै सुरु गर्नुपर्छ ।’ महिला भएकै कारणले मत दिने नभइ भिजन र एजेण्डा हेरेर मत दिन उनले आग्रह गरिन् ।
आफूले जित हाँशिल गरे महिला शशक्तिकरण र हिंसा विरुद्ध लड्ने योजना बनाउने उनले बताइन् ।
त्यसैगरी,विवेकशील साझा पार्टी काठमाडौंबाट मेयरकी उम्मेदवार समिक्षा बाँस्कोटाले २५ वर्षमा महानगरले ठुला पार्टीका नेताबाट कुनै परिवर्तन नपाएकोले गुनासो पोखिन् । बाँस्कोटाले सार्वजनिक यातायातमा हुने हिंसाको न्युनीकरण,ढलको समस्या समाधान,सार्वजनिक शौचालय, ढुङ्गेधारा र सम्पदाको संरक्षण गर्नु आफ्नो पार्टीको उद्देश्य रहेको बताइन् ।
त्यस्तै काठमाडौं महानगरकी एमाले उपमेयर उम्मेदवार सुनिता डंगोलले अग्रजहरुको आर्शीवाद लिएर नयाँ पुस्ताले नेतृत्व लिनुपर्ने बताइन् ।कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट काठमाडौं महानगरबाट उपमेयरकी उम्मेदवार विनिता मगैयाँले समानताको लागि महिलाले राजनीतिमा धेरै भन्दा धेरै सहभागिता जनाउनु आवश्यक रहेको बताइन् ।
त्यस्तै कार्यक्रममा विवेकशील साझा पार्टीकी काठमाडौंमा उपमेयरकी उम्मेदवार कृति तुलाधार, राष्ट्रिय प्रजातन्त्र ललितपुर महानगर उपमेयर उम्मेदवार स्वर्णिमा शाक्य लगायतले पनि आआफ्नो मन्तव्य राखेका थिए ।
कार्यक्रममा महिला गैरसरकारी संस्था महासंघकी अध्यक्ष डा. शशी अधिकारीले महिला उमेदवारलाई जिताएर महिला जनप्रतिनिधीको संख्यामा उल्लेख्य वृद्धि गर्ने उदेश्यले संस्थाले विभिन्न कार्यक्रम गर्दै आएको बताइन् ।