उम्मेदवारको टुंगो लगाउदै ,नेकपा एमाले जुम्ला

जुम्ला ः नेकपा एमाले जुम्ला उम्मेदवारको टुंगो लगाउन तिव्र गतिमा लागेको छ । यही बैशाख ३० गते हुने स्थानीयतह सदस्य निर्वाचन २०७९ मा प्रतिष्पर्धा गर्न सक्ने उम्मेदवारको टुंगो लगाउन आन्तरिक छलफललाई तीब्र पारेको हो । गठबनधन दलको भन्दा सक्षम उम्मेदवार छान्नु पर्ने भएकोले केही स्थानीयतहमा उम्मेदवारको टुंगो लाग्न नसकेको नेकपा एमाले जुम्लाका सचिव धनकृष्ण पाण्डेले बताए । उनले स्थानीयतह निर्वाचनमा पार्टी भन्दा पनि व्यक्तिलाई प्राथमिकताका साथ हेरिने भएकोले गठबन्धनको भन्दा सक्षम र उर्जाशिल उम्मेदवार छनौट गर्न लागि परेको बताए ।
त्यस्तै नेकपा एमाले जुम्लाले तिला गाउँपालिकामा रेशमबहादुर शाहीको नाम अध्यक्षको लागि टुंग्याएको छ । उपाध्यक्षमा तीन जनाको नाम प्रदेश कार्यालयमा सिफारीसका लागि पठाएको बताइएको छ ।

त्यस्तै हिमा गाउँपालिकामा अध्यक्षमा जयबहादुर खत्री र उपाध्यक्षमा भागरथी शाहीको नाम टुंगो लागेको नेकपा एमाले जुम्लाका सचिव पाण्डेले जानकारी दिए । उनले सिँजामा आकांक्षी धेरै भएकोले टुंगो लगाउनको लागि प्रदेश कार्यालयमा नाम सिफारीस गरिएको उनले बताए । उनका अनुसार अध्यक्षमा सुमन आचार्य,युवराज बम र भुवन रोकायाको नाम पठाइएको छ । उपाध्यक्षको लागि पनि तीन जनाको नाम सिफारीस गरिएको हो ।
कनकासुन्दरी गाउँपालिकामा मानबहादुर रोकायाको नाम अध्यक्षमा टुंगिएको छ । उपाध्यक्षमा तीनजनाको नाम आएकोले प्रदेशमा पठाइएको हो । पातारासीमा अध्यक्षमा सुकराम रावत र उपाध्यक्षमा खुम्मेनी महताराको नाम टुंगो लागेको हो ।
त्यस्तै ठिचौर गाउँपालिकामा अध्यक्षमा झनमाया जैसी र उपाध्यक्षमा प्रेमबहादुर बुढा छनौट गरेको हो । तातोपानीमा अध्यक्षमा सुरतबहादुर शाही र धिरज जैसीको नाम आएकोमा टुंगो लगाउन प्रदेश पठाइएको छ ।
उपाध्यक्षमा ज्वाला चौलागाइ र भृकुटी नेपालीको नाम पनि प्रदेश कार्यालयमा पठाइएको हो । चन्दननाथ नगरपालिकामा उम्मेदवार छनौटमा छलफल भइरहेको छ । नगरपालिकाको उम्मेदवारको सिफारीसका लागि कसैको नाम आइसकेको छैन ।
सचिव पाण्डेले उम्मेदवारको टुंगो लागेको पालिकामा प्रचारप्रसारको काम गर्न घरदैलो कार्यक्रम सुरु भइसकेको बताए । उनले भने,‘गठबन्धन दल एकातिर र एमाले मात्र अर्कोतिर भएकोले गम्भीर रुपमा आन्तरिक छलफल गरेर मात्र टुंगोमा पुर्याउने तयारी भइरहेको छ ।

सम्बन्धित समाचार