रुकुममा दर्जन बढी सकेट बम भेटिए

रुकुम :  रुकुम पूर्वको सिस्ने गाउँपालिका – २ मा एक दर्जन बढी सकेट बम फेला परेका छन् । सिस्ने–२ प्वाङको बुर्केसल्लामा कालो प्लाष्टिकको ड्रमभित्र लुकाइ राखेको अवस्थामा दर्जन बढी  सकेट बम फेला परेका हुन् ।

वडा नम्वर दुईका वडाध्यक्ष जीवन केसीले विहिबार दिउँसो बाख्रा चराउन जंगलमा गएका स्थानीयले उक्त बम फेला पारेको बताए । ‘जंगलमा लुकाएर राखेको अवस्थामा ड्रमभित्र शंकास्पद बस्तु देखेको वडा कार्यालयमा जानकारी आयो’ वडाध्यक्ष केसीले भने, ‘हामीले इलाका प्रहरी कार्यालय प्वाङको प्रहरीलाई साथमै लिएर जाँदा सकेट बम नै रहेको पत्ता लाग्यो ।’

जंगलमा रहेको ओढारमा ड्रमभित्र लुकाइँ राखेका शंकास्पद वस्तुहरु सकेट बम नै रहेको प्रहरीले जनाएको छ । बम कति संख्यामा छ भन्ने एकिन नभए पनि कालो रंगको ड्रमभित्र दर्जनभन्दा बढी नै रहेको हुनसक्ने प्रहरीको भनाइ छ ।

सकेट बम रहेको स्थानलाई प्रहरीले निगरानी गरिरहेको र शुक्रबार जिल्ला सदरमुकाम रुकुमकोटबाट नेपाली सेनाको टोली गएर डिस्फोज गर्ने तयारी रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जानकारी दिएको छ ।  उक्त बम जनयुद्धको क्रममा तत्कालिन विद्रोही माओवादीले राखेको हुनसक्ने अनुमान गरिएको छ ।