गुर्भाकोट र सिम्तामा योजना बारे छलफल, समृद्धीका योजना बनाउन सुझाव

सुर्खेत ।
सुर्खेतको गुर्भाकोट नगरपालिका र सिम्ता गाउँपालिकामा चालु आर्थिक बर्षमा विनियोजन भएका योजनाहरुको समिक्षा गरिएको छ । साथै आगामी आर्थिक बर्षकालागि योजनाहरुको सुझाव र छलफल गरिएको छ ।
आईतवार र सोमवार गरी यि दुई स्थानीय तहमा चालु आवका योजनाहरु कसरी सम्पन्न गरिए , यसको नियमन र जनताहरुको ती योजनाहरुमा कस्तो सहभागिता रह्यो भन्ने बिषयमा समिक्षात्मक कार्यक्रम गरिएको छ ।
सुर्खेत निर्वाचन क्षेत्र नम्बर १ (क) मा पर्ने दुई स्थानीय तहमा बन्दै गरेका र सम्पन्न हुनैलागेको योजनाहरुको अनुगमन तथा सम्पन्न योजनाहरुको समिक्षा भएको हो ।
सोही निर्वाचन क्षेत्रबाट कर्णाली प्रदेश सभामा निर्वाचित प्रदेश सभा सदस्य ठम्मरबहादुर बिष्टले चालु आव सकिन मात्रै १ महिना बाँकी रहेका बेला योजनाहरुको पारदर्शीता र गुणस्तरीयताकालागि समीक्षा गरिएको बताए ।
सांसद विष्टले चालु आवमा प्रदेश सरकारको भौतिक मन्त्रालयबाट विनियोजित योजनाहरु सबै टेन्डर भैसकेको बताए । कृषि मन्त्रालय, उद्योग पर्यटन बन तथा वातावरण मन्त्रालय,आन्तरिक मामिला मन्त्रालय र सामाजिक विकास मन्त्रालयबाट परेका योजनाहरु कार्यान्वयनको चरणमा रहेको उनले जानकारी दिए ।
साथै बिष्टले कर्णाली सरकार आगामी आर्थिक बर्षको योजना तथा बजेट संगै नीति निर्माण गर्न लागेका बेला आफ्ना निर्वाचन क्षेत्रमा कस्ता खालका योजनाहरुको आवश्यकता छ भनेर जनतासमक्ष आईपुगेको र सुझावहरु लिएको बताए ।
गुर्भाकोट र सिम्ताका स्थानीय नागरिकहरुले भौतिक पुर्वाधारका योजनाहरुलाई प्राथमिकता दिन सुझाव दिएका छन । उनीहरुले स-साना टुक्रे योजनाहरु भन्दापनि समग्र पालिकाको सम्बृद्धि ल्याउने बहुबर्षिय योजना बनाउन सुझाव दिएका छन । साथै स्थानीयहरुले चालु आवमा रहेका योजनाहरुको जगमा टेकेरै आगामी आवमा बहुबर्षिय, मझौला योजना पारिदिन माग गरेका छन ।
सांसद विष्टले स्थानीय तहका जनप्रतिनिधि, र स्थानीयहरुलाई सम्पन्न हुने खालका योजनाहरुको अध्ययन गरेर आफुकहाँ फाईलहरु बुझाउन सुझाव दिएका छन । उनले प्रदेश सरकारपनि संरचना निर्माण गर्दै र सिक्दै गरेको अवस्थामा रहेकाले केहि जटिलता देखिएपनि आगमी आवमा सबै योजनाहरु सम्पन्न हुने र प्रत्यक्ष स्थानीय नागरिकहरुको सहभागितामा सम्पन्न गर्ने बचन दिएका छन ।








