सहकारीका नाममा ठगिदै जुम्ली नागरिक

 

जुम्ला : सहकारीका सञ्चालकहरू बचतकर्ताले स‌ंकलन गरेको रकम उठाएर सम्पर्कविहीन भएपछि जुम्लाका बासिन्दा ठगिएका छन्।

नागरिक बचतकर्ता सहकारीका सञ्चालक र कर्मचारीबाटै ठगिँदै आएका छन्। चन्दननाथ नगरपालिका– १० गैरागाउँका प्रेमराज न्यौपाने सहकारीका बचतकर्ता हुन्। उनले स्वजन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडमा बचत गरेका थिए।

उनी त्यो सहकारीमा आबद्ध दैनिक बचतकर्ता हुन्। उनले त्यो सहकारीमा ३० हजार ५ सय रुपैयाँ जम्मा गरेका छन्।

जुम्लाको बसपार्कमा अवस्थित स्वजन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका बचतकर्ता न्यौपाने मात्रै होइन, चन्दननाथ नगरपालिका–६ की हरिदेवी बुढाको पनि उस्तै व्यथा छ।

हरिदेवीको ९ सय रुपैयाँ मात्रै जम्मा छ। उनले भनिन्, ‘मैले स्वजन बहुउद्देश्यीय सहकारी संस्थाले ४ हजार शेयर लगानी गर्न लगाएको थियो। हामीले आफ्नो घर खर्च कटाएर गरेको बचत सहकारीले बालुवामा पानी खन्याए जस्तै गरिदियो।’

सोझासाझालाई बचतको बहानामा सहकारीले ठगी गरेको उनले बताइन्।

स्वजन बहुउद्देश्यीय सहकारी संस्था जुम्लामा सञ्चालन भएको ३ वर्ष भएको उनले बताइन्। ‘हामी जस्ता व्यापार गरेर बसेका झण्डै ५ सय व्यक्तिले पैसा जम्मा गरेका छन्। अहिले उनीहरू रुनु न हाँस्नु भएका छन्।’

यो सहकारीले बचत उठाउन छोडेर भागेको एक वर्ष जति भयो। यसका प्रमुख सञ्चालक चन्दननाथ–१० गैरागाउँका जनक हमाल हुन्। सहकारी बसेको अफिस बन्द छ।

सर्वसाधारणले सहकारीमा जम्मा गरेको  पैसा लिएर विदेश गएको हल्ला छ।

बचतकर्ता बुढाले भनिन्, ‘पैसा बचत गरेका सदस्यको हातमा सहकारीको पासबुक मात्रै छ। कतिपयले त २ लाखसम्म जम्मा गरेका छन्। ब्याज हालिदिने भन्दै उनीहरूको पासबुक समेत सहकारीले नै लिएको छ।’

त्यस्तै जुम्लाको बसपार्कमा सञ्चालित अर्को सहकारी समाज रूपान्तरण बहुउद्देश्यीय सहकारी संस्था पनि ग्राहकले जम्मा गरेको रकम लिएर सम्पर्कविहीन भएको छ।

यो सहकारीमा पनि ४ सयको हाराहारीमा बचतकर्ता आबद्ध छन्। यी सबै बचतकर्ता सहकारीले ठगेको भन्दै हारगुहार गर्दै आएका छन्।

समाज रूपान्तरणले बचतको नाममा जुम्लाका बासिन्दालाई ठगेको चन्दननाथ–६ की एकुमाया खत्रीले बताइन्।

उनले भनिन्, ‘म यसकी बचतकर्ता हुँ। यो सहकारीमा मेरो १५ हजार ३ सय रुपैयाँ रकम छ। यो सहकारीमा न्यूनतम ५ हजारदेखि अधिकतम ३ लाखभन्दा बढी बचत गरेका व्यक्ति छन्।

बचत गरेर नागरिकको जीवन सहज बनाउने झूटा आश्वासन दिएर यसका पदाधिकारी  सम्पर्कविहीन भएका छन्।

सहकारीका अध्यक्ष चन्दननाथका–८ तलिमका प्रकाश रोकाया हुन्। त्यस्तै चन्दननाथ–१० गैरागाउँका भोजराज न्यौपाने, मंगलादेवी बोहोरा, रेशम शाही र सर्पजित बुढा लगायतका पदाधिकारी यसका जिम्मेवार व्यक्ति हुन्।

उनीहरू गत असोज महिनाको १२ गतेदेखि सम्पर्कविहीन छन्। बचत जम्मा गरेका व्यक्ति सहकारीको रित्तो अफिसमा आएर कुर्ने जाने गरेका छन्।

सहकारीको बाहिर बोर्ड टाँसिएको छ। त्यही बोर्ड देखेर नागरिक आउने फर्किने गरेको छिमेकीहरू बताउँछन्।

त्यस्तै समाज रूपान्तरणकी बचत संकलनकर्ता चन्द्रमाया रावल भन्छिन्, ‘यो सहकारी स्थापना कालदेखि बचत संकलनको जिम्मा लिएर काम गरेकी हुँ।’

उनले सहकारीले ६ महिनादेखि तलब नदिएपछि बचत स‌ंकलन गर्न  छोडेको बताइन्।

उनले भनिन्, ‘गाउँका धेरैजना महिला दिदीबहिनीले ममार्फत रकम बचत गर्नुभएको छ। कसैको त २ लाखभन्दा बढी बचत पुगेको छ। धेरै बालबालिकाको बालबचत छ।’

उनले समाज रूपान्तरण बहुउद्देश्यीय सहकारीका प्रमुख मान्छेले नै बेइमानी गरेको बताइन्।

उनले भनिन्, ‘बचतकर्ता मसँग आफ्नो रकम फिर्ता माग्न आउँछन्। म सहित संगीता भण्डारी, रामदेवी भण्डारी र गंगा भण्डारी बचत संकलनकर्ता थियौँ।’

आफूहरूलाई तीन हजार तलब दिने गरे पनि नियुक्तिपत्रमा नौ हजार रुपैयाँ पारिश्रमिक लेखिएको बताउँछिन्।

उनले भनिन्, ‘बचतकर्ता रातदिन मेरो रकम फिर्ता दे भनेर मसँग कराउँछन्। सहकारीका जिम्मेवारी व्यक्तिलाई फोन गर्दा तँ जे गरे गर भनेर प्रतिक्रिया दिने गरेका छन्। कसरी सदस्यको बचत फिर्ता गर्ने भन्ने कुराले चिन्तित बनाएको छ।’

त्यस्तै संघीयता लागूसँगै जिल्ला सहकारी संघ खारेज भएपछि सहकारीको कार्यक्षेत्र हेरेर नियमन गर्ने निकाय तोकिएको चन्दननाथ सहकारी संस्थाका उपाध्यक्ष पूर्णप्रसाद धितालले बताए।

उनले भने, ‘कुनै एउटा स्थानीय तहमा सञ्चालन भएको सहकारीको हकमा नियमन गर्ने निकाय स्थानीय तह हो।’

जिल्ला भरी कार्यक्षेत्र भएको सहकारीको हकमा सबै स्थानीय तहले नियमन गर्न पाउँछन्। जिल्लाभन्दा माथि कार्यक्षेत्र रहेका सहकारीलाई भने प्रदेशको कृषि मन्त्रालयले नियमन गर्ने अधिकार छ।

यता समाज रूपान्तरण सहकारीका अध्यक्ष प्रकाश रोकाया भने, ‘यसअघि भोजराज न्यौपाने सर यसका अध्यक्ष हुनुहुन्थ्यो। म अध्यक्ष भएको दुई महिनामै काम विशेषले काठमाडौँ गएँ। त्यसपछि सहकारी नै बन्द भएको छ।’

बचतकर्ताको ६ देखि ७ लाखसम्म रुपैयाँ फिर्ता गर्नुपर्ने भएको उनले स्विकारे।

उनले भने, ‘म तत्काल आएर सबैको बचत फिर्ता गर्छु। यही माघदेखि फागुनसम्म जसरी पनि बचतकर्ताको रकम फिर्ता गर्छु। सहकारीले १२ लाख जति ऋण लगानी गरेको छ। ऋण असुल गरेर नागरिकको बचत फिर्ता गर्ने तयारी छ।’

त्यस्तै समाज रूपान्तरण सहकारीले बचतकर्ताको रकम फिर्ता दिने आश्वासन दिए पनि स्वजन बहुउद्देश्यीय सहकारी संस्थाका कुनै पदाधिकारी फोन सम्पर्कमै नआएको बचतकर्ताको गुनासो छ।

स्वजन बहुउद्देश्यीय सहकारी संस्थालाई घरभाडा दिएका लछिराम महतले करिब एक वर्षको भाडा लिन बाँकी छ।

उनले भने, ‘सहकारीको बोर्ड मात्रै छ, अरू कुनै अत्तोपत्तो छैन। घर भाडामा दिएदेखि स्वजन बहुउद्देश्यीय सहकारीले एकपटक १२ हजार भाडा हालेको थियो। त्यसपछि सहकारी आफैँ बेखबर छ।’

बचतकर्ताको रकम हुनबाट रोक्न सम्बन्धित निकायले अनुगमन गर्न जरुरी छ। यसअघि पनि बचत तथा ऋण सहकारी संस्थाले धेरै बचतकर्ताको रकम हिनामिना गरेको कुरा बाहिर आएको थियो।

सहकारी संस्थामा अनियमितता बढ्दै

सहकारीमा आबद्ध सदस्यहरू सचेत भए बेथिति कम हुन सक्ने सहकारीका विज्ञहरूको भनाइ छ। तर यसरी सहकारीबाट जुम्लाका बासिन्दा ठगिए पनि उजुरी नदिएको पाइन्छ।

सहकारी संस्थाहरूले बैंकहरूले जस्तै कारोबार गर्दा पनि कारबाही नहुँदा समस्या उत्पन्न भएको नागरिक समाजका अध्यक्ष राजबहादुर महत बताउँछन्।

उनले भने, ‘कतिपय सहकारीको ठगी धन्दा जुम्लामा मात्रै होइन, देशका धेरै ठाउँका सहकारी टाट पल्टेर सर्वसाधारणको पैसा डुबाएका खबर आउने गरेका छन्।’

सहकारीहरू बिग्रनुमा बैंकहरूले गर्ने जस्तै उनीहरूले गर्ने वित्तीय कारोबार एउटा प्रमुख कारण हो, जुन सहकारी ऐनविपरीत भएको पाइन्छ।

‘बचत खाता, मुद्दती खाता लगायत विभिन्न नाममा तीन वर्षभन्दा बढी समयका पनि खोलिएका हुन सक्छन्‚ यसको अनुगमन गर्ने निकाय मौन छ’‚ महतले भने।

जुम्लाकी प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंले ठगी गरेको कुरा उजुरी आएको खण्डमा कानुनी प्रक्रिया अघि बढाउने बताइन्।

उनले भनिन्, ‘नागरिक सहकारीबाट ठगीमा परेको बारे प्रशासनको ध्यान आकर्षण भएको छ।’ जुम्लाका सहकारीमा बचतकर्ताको रूपमा महिला र बालबालिका रहेकाले उनीहरू नै ठगीमा पर्ने गरेका छन्।

 

सम्बन्धित समाचार