कर्णालीमा पहिलो पटक प्रदेश लोक सेवा आयोगले खोल्यो कर्मचारी विज्ञापन

मुलुक संघीयता गएसँगै कर्णाली प्रदेश लोक सेवा आयोगले पहिलो पटक कर्मचारीको विज्ञापन खोलेको छ । स्थायी पदपूर्ति गर्न आयोगले आज कर्मचारीको विज्ञापन गरेको हो ।

आयोगले प्रदेश निजामती सेवा र स्थानीय सरकारी सेवाका पाँचौं तहका विभिन्न सेवा समुहका प्राविधिक तथा अप्राविधिक पदहरुको खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापन गरेको हो । कर्णाली प्रदेशमा रिक्त स्थायी पदपूर्ति गर्ने गठित आयोगको आदेशानुसार दरबन्दी पूर्तिका लागि विज्ञापन गरिएको प्रदेश लोक सेवा आयोग, कर्णाली प्रदेशका सचिव भूपेन्द्र थापाले जानकारी दिनुभयो ।

जनशक्ति आपूर्ति गर्नुपर्ने टड्कारो आवश्यकता रहेको तथापि संघीय तथा प्रादेशिक निजामती सेवा ऐन नबनिसकेको यस जटिल समयमा रिक्त दरबन्दीमा जनशक्ति पदपूर्ति गर्न विज्ञापन खोलिएको सचिव थापाले बताउनुभयो । आयोगको कार्यतालिका अनुसार रिक्त स्थायी पदपूर्ति लागि कर्मचारीको विज्ञापन खोल्न माग आकृति फारम पठाउन सूचना गरिएपनि प्रदेश कार्यालयहरुबाट समयमै रिक्त दरबन्दीको विवरण नआएको उहाँको भनाई थियो ।

उहाँका अनुसार प्रदेशको माग प्रतिशत निर्धारण गरिसकेपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले रिक्त पदमा सरुवा गर्दा पुनरावलोकनमार्फत विज्ञापन गर्नुपरेको छ । केही स्थायी पदमा स्थानीय तहमा जनप्रतिनिधिहरुले आफ्ना मान्छे करार÷अस्थायीमा भर्ना गरेकाले पनि रिक्त दरबन्दीको खास विवरण पठाइएको छैन ।

“ज्येष्ठताको आधार, कार्य सम्पादन र आन्तरिक प्रतिस्पर्धाबाट हुने बढुवाको विज्ञापन हामीले खोल्न सकेनौं किनभने निजामती सेवा ऐन अनुसार यसमा बढुवा समितिको सचिवालय हुनुपर्छ,” सचिव थापाले भन्नुभयो, “प्रदेश लोक सेवाले लिने प्रदेश निजामती सेवा र स्थानीय सरकारी सेवाको हकमा बढुवा समितिको सचिवालय ऐन कानूनमा व्यवस्था नभएको र कुनै ऐन कानूनले नबोलेको हुनाले बढुवाको विज्ञापन गरेनौं ।”

कानूनी जटिलता र पदपूर्तिमा देखिएका थुपै्र चुनौतिका बीचमा निकै मेहनत गरेर पहिलो पटक कर्णाली प्रदेशमा रिक्त दरबन्दी पूर्तिका लागि कर्मचारीको विज्ञापन गरिएको उहाँको भनाई थियो । आयोगबाट सिफारिस भएर पदास्थापन हुने कर्मचारीहरुको प्रदेश निजामती सेवा र स्थानीय सरकारी सेवाको ऐन कानून बमोजिम सेवा, शर्त र सुविधा हुने भनेर उल्लेख गरिएको उहाँले बताउनुभयो ।

प्रदेश र स्थानीय तहमा नियुक्त भएका कर्मचारीको किताबखानामा हुने अभिलेख कसले राख्ने भन्ने निश्चित नभएको यद्यपि केही समयपछि त्यसको निकास आउने आयोगको कर्णाली प्रदेश कार्यालयले जनाएको छ । कार्यालयका अनुसार संघीय लोक सेवामा पनि पाठयक्रम नबनेकोले अब सबै तहमा नयाँ पाठ्यक्रम बनाउनुपर्ने देखिन्छ ।

प्रदेश निजामती सेवा र स्थानीय सरकारी सेवा पाँचौं तहका विभिन्न सेवा समूहका प्रकाशित विज्ञापन अनुसार अप्राविधिक पाँचौं तहको खुलातर्फ ६८, महिलातर्फ १८ र आदिवासी जनजातितर्फ छ जनाका लागि विज्ञापन गरिएको छ । प्राविधिकतर्फ सव–ईन्जिनियर खुला ३७, महिला १२ आदिवासी जनजातितर्फ दुई जनाको विज्ञापन गरिएको छ ।

त्यस्तै, कृषि तथा पशु प्राविधिक, हेल्थ असिस्टेन्ट स्टाफ नर्सmलगायतका विभिन्न सेवा समुहका पाँचौ तहको ठूलो संख्यामा विज्ञापन खोलिएको छ । आयोगको वार्षिक कार्यतालिका अनुसार पाँचौ भन्दा माथिल्लो तहमा बढुवा हुने वा खुला प्रतिस्पर्धा के हुने भन्ने स्पष्ट भएपछि मात्र विज्ञापन हुने प्रदेश लोक सेवा आयोग कर्णाली प्रदेशद्वारा जनाइएको छ ।

यस्तो छ विज्ञापन:

सम्बन्धित समाचार