घरभित्रै सुरक्षित छैनन् महिला 

जुम्ला ः समाजमा अन्याय अत्याचार अहिले पनि जारी छ । हिंसा आफै दुई किसमको हुन्छ । एक राज्यद्धारा गरीएको अर्को घरपरिवार र समाजले गर्छ ।हाम्रो जस्तो तेस्रो विश्वका देशहरुमा महिलामाथि राज्यद्धारा पनि हिंसा हुन्छ । त्यहि भएर महिलामाथि दुई सत्ताले हिंसा गरीरहेको छ । एक राज्यसत्ताले र अर्को घरपरिवारले । त्यहि भएर भनिन्छ पुरुष राज्यसत्ताबाट हिंसा भोगी रहेका छन् भने महिला दुई सत्ताबाट हिंसा भोगीरहेका छन् । एक राज्यसत्ता अर्को पृतिसत्ताबाट ।
घरपरिवार र समाज कति शिक्षित छ भनेर थाह पाउन त्यो घरपरिवार समाजमा महिलाको सम्मान कति गर्छ ? महिलालाई कस्तो व्यवहार गर्छ भन्ने छ ।

महिला हिंसा समाजको कुरुप तस्वीर हो । महिलालाई मान्छेका रुपमा सामान्य अधिकारको उपभोगबाट पनि बञ्चित बनाइन्छ । विश्व २१औं शताब्दीमा चलिरहेको छ । चन्द्रमा देखि मंगल ग्रहसम्मका यात्रामा छन् । तर हाम्रो समाज अहिलेपनि महिला हिंसा गदै बसेको छ ।

अहिलेको विश्व विज्ञान र प्रविधिको हो । जटिलभन्दा जटिल काम पनि प्रविधिको माध्यमबाट निकै सरल र सहज ढंगले भइरहेका छन् । तर यही प्रविधिको युगमा महिलामाथिको हिंसा भने अहिलेपनि जारी छ । मानव अधिकारको विश्वव्यापी घोषणा पत्रको धारा १ ले भन्छ, ‘सबै नागरिक जन्मजात र मर्यादा तथा अधिकारमा समान हुन्छन् ।’
तर बिडम्वना नेपाल मात्रै हैन विश्वका कुनै पनि देश महिला हिंसा मुक्त हुन सकेका छैनन् । त्यो भन्दा बढी कर्णालीका महिला हिंसाको उच्च जोखिममा छन् । आजपनि कर्णालीमा अधिकास महिला हिंसाको सिकार बनेकी छन् ।
श्रीमान नै सबैभन्दा घातक
हिंसा प्रभावित महिलाको पीडकसँगको सम्बन्धलाई विष्लेशण गर्दा महिलाहरू सबैभन्दा बढी श्रीमानबाट हिांसा पिडित भएका छन् । त्यसपछि घरपरिवार पर्छन् । कूल हिंसा पिडित महिलामा ५१ प्रतिशत श्रीमानबाट र १९ प्रतिशत आफ्नै घरपरिवारका सदस्यबाट छन् । १८ प्रतिशत छिमेकीबाट, ७ प्रतिशत आत्मीय व्यक्तिबाट हिंसामा परेको बिभिन्न अध्ययनले देखाउछ ।

पितृसत्तात्मक सामाजिक संरचना, रुढीवादी मूल्य मान्यता , पुराना संस्कृतिका कारण महिलाले दोस्रो दर्जाको नागरिक भएर जिउन बाध्य छन् । सामाजिक रुपले मान्यता प्राप्त विवाह संस्थाभित्र आधाभन्दा बढी महिला आफ्नै जीवनसाथीबाट हिंसाको मारमा पर्छन ।

समाज पृतिसत्तावादी चिन्तनको छ । यहाँ सामाजिक मूल्यमान्यता पृतिसत्तावादी छन् । यहाँ पुरुषले जेगरेपनि छुट छ तर महिलालाई दोस्रो दर्जाको नागरिक भएर बाँच्नु पर्छ । अझ त्यसमा सामाजिक बन्धन छन् ।
कयौ चालचलनले महिलामाथि दुव्र्यवहार गर्दा विवाह संस्थाप्रतिको विश्वास र मर्यादामाथि नै प्रश्न उठ्छन् । विवाह एकअर्काको सहयात्री भन्दा पनि महिलालाई दासको रुपमा हेरिन्छ । महिला विवाह पछि स्वतन्त्र नागरिक होइन अरुको बन्धनमा बस्नु पर्ने सामाजिक धार्मिक र सांस्कृतिक मान्यता छन् । जुन महिलालाई पिडा दिन थप सहयोग दिन्छन् ।
आज महिला विवाहपछि पिडित हुन्छन् । उनीहरु श्रीमानबाट ,घरपरिवारबाट दिनदिनै पिडा सहन बाध्य छन् । बाहिर भन्दा समाजले महिलालाई नै दोष देखाउने चलन छ ।

यहि भएर कयौ महिलाहरु पिडा सहेर बस्न बाध्य भएका छन् । महिला हिंसाबाट जुम्ला जिल्ला पनि अछुतो छैन । यहाँ पनि महिलाहरु दिनदिनै हिंसाबाट पिडित छन् ।चन्दननाथ नागरपालिका १ ललिचौरकी २२ बर्षिय सुनिता कामी श्रीमान र सासुबाट हिंसा पीडित महिला हुन् । उनको जन्म घर तातोपानी गाउपालिकाको हिंयाँखोला गाउँमा हो । उनले १७ वर्ष ललिचौरका लोकेन्द्र कामी संग भागी विवाह गरेकी थिइन् ।
उनको ३ वर्षकी छोरी छ । छोरी जन्मेपछि उनका श्रीमानले चन्दननाथकै सुचना कामीसंग दोस्रो बिहे गरे । कान्छि श्रीमतिबाट पनि एक छोरी छ ।

दोस्रो विवाह गरेका लोकेन्द्रले दुबै श्रीमतिलाई माया गर्ने बचन दिए । सुनिता पनि होला नि त भनेर विश्वासमा बसीन । तर विस्तारै उनका श्रीमानले उनलाई अलगै एउटा कोठामा राखे । उनलाई छुट्याएर राख्दा सुनिता दोस्रो बच्चा पाउने भएकी थिइन् । श्रीमान घरपरिवारको माया पाउनु पर्ने समयमा अलग बस्नु प¥यो । त्यसमाथि सासुले पनि उनलाई मानिसिक रुपमा तनाब दिन थालिन् । सुनिता भन्छिन् ‘श्रीमानले मेरो मुख नै हेर्नु हुन्न । सासुले समेत घरेलु हिंसा गर्ने । मानिसक रुपमा तनाब दिने गरेकी छन् ।’

साथमा ३ वर्षकी छोरी र पेटमा ८ महिनाको गर्भ छ । श्रीमानको साथ अनि घरपरिवारको माया त परै जाहोस कुनै संस्थाले दिइएको राहत समेत उनकी सासु माया कामीले खुशिले खान नदिइएको सुनिता बताउछिन् । यि महिला पीडामा छट्पटीदा त्यहाँको समाज रमिते छ । हिंसा पीडित महिलाकोलागी काम गर्ने जुम्लामा महिला सेवा केन्द्र छ । प्रशासन छ । हरेक स्थानीय तहमा न्यायिक समिति छ । तर कसैले उनको गुनासो सुन्दैन । कसैले न्याय दिदैन । कानूनमा बहुविवाह गरेमा जेल जानु पर्छ । तर दुरदराजका गाउँमा महिलाहरु सौता पिडित छन् ।
त्यस्तै चन्दननाथ नगरपालिका ६ की कल्पना शाही (रावल ) पनि घरेलु हिंसा पीडित महिला हुन् । उनको जन्म घर तातोपानी गाउँपालिकाको टोप्ला गाउँ हो । उनी आफै अपांगता भएकी व्यक्ति हुन । उनका दुवै खुट्टाको टेक्ने भाग छैन ।
तर उनीसंग अपाँगताको परिचय खुल्ने कुनै प्रमाण छैन, नागरिकता पनी छैन । कल्पनालाई आफ्नो उमेर कति भयो भनेर थहा छैन । उनी ३ महिनाकी हुदा आफ्नो आमा बितेको बताउछिन । आमा बितेपछि घरमा स्यारसुसार गर्ने कोही भएन । पोलिएपछि उनको अवस्था यस्तो भएको हो । उनी भन्छिन, ‘जन्म दिने आमा मरे पछि बुबाले अर्की श्रीमती ल्याए । उपचार गर्ने कोही भएन । बुवाको अवस्था पनी दैनीय थियो । हामो घरमा लेखेपढेको मान्छे कोही छैन । सौतली आमाको किचकिचले हैरान भए ।’
सौतेलि आमाको दुःख सहन नसकेर उनले विवाह गरीन । विवाह गर्दा घरमा सौता रहिछन् । उनले विवाह गरेर आएका श्रीमान ४६ वर्षका छन । कल्पनाको उमेर हेर्दा २६ वर्षको जस्तो देखीन्छ । उनकी जेठी सौताबाट सन्तान नभएपछि कर्णबहादुर रावलले उनीसंग विवाह गरेका रहेछन् ।

सौता कुइरी रावलबाट २० वर्षसम्म सन्तान नजन्मे पछि रावलले उनीसंग विवाह गरेको शाहि बताउछिन् । शारिरीक रुपमा अपांगता भएकी कल्पनालाई सन्तान जन्माउनका लागी दोस्रो श्रीमतीको रुपमा ल्याएको हो ।
कल्पनाले ४६ वर्षिया कर्ण बहादुर रावलसंग विहे गरेको दुइ वर्ष भएको छ । उनी भन्छिन ‘सौताले नै सुखदिने । राम्रो व्यवहार गर्ने भनेर आफ्नो श्रीमानसंग विहे गरेर ल्याएकी हुन । तर अहिले दुःख दिन्छन् ।’
कल्पनाबाट जुम्ल्याह छोरा जन्मेका छन् । उनी सुत्केरी भएको एक मिहना पुरा भएको छ । एक बच्चाको स्वाथ्यमा समस्या आएपछि आइसियुमा राखिएको छ । उनी एक महिनादेखी कर्णाली स्वास्थ्य बिज्ञानको वेर्डमा छन ।
दुई छोराकी आमा कल्पना शाहिलाई उनका श्रीमानले अहिलेसम्म नागरिकता बनाइदिएका छैनन् । नत विवाह दर्ता नै गरेका छन् ।
सुरुमा माया गर्ने सुखसाथ राख्ने भन्दै ल्याएकी कल्पनालाई सौताले नै अहिले हिंसा गरको पिडित शाहि बताउछिन् । कल्पना भन्छिन् ‘मलाई बच्चा जन्माउन मात्रै प्रयोग गरे जस्तो लाग्छ । उनीअरुको घरमा अरु दाइभाइ कोहिछैन । अरुले अंस खान्छन भनेर सन्तान जन्माउन खोजेका रहेन्छन । म आफै राम्रोसंग हिड्डुल गर्न सक्दिन । एकातर्फ शारिरीक रुपमा अपांगता अर्को तर्फ सौताको किचलो सहन बाध्य छु ।’
यी त समाजमा देखिएका प्रतिनिधि पात्र हुन । देशभरीमा महिलाहरु हिंसाका शिकार कति छन् छन् । तर यीनका लेखा जोखा गर्ने कुनै ठाउँ छैन ।
हिंसाको अवस्था
जुम्ला जिल्लामा तिन वर्ष यताको घरेलु हिंसाको उजुरी हेर्दा कहालीलाग्दो छ । जिल्ला प्रहरी कार्यालयको महिला तथा बाल वालिका सेवा केन्द्रको तथ्याङ्ग अनुसार २०७६ देखी हाल सम्म घरेलु हिंसाका मात्रै ९८ वटा उजुरी परेका छन् । त्यस्तै समाजिक हिंसाका १ सय १७ वटा उजुरी छन् । हिंसा गर्नेहरू सबैभन्दा बढी श्रीमान र घरपरिवारका सदस्यहरू रहेका जुम्लाका प्रहरी निरिक्षक तथा सुचना अधिकारी युवन चौधरीले बताउछन् ।
हिंसाले आत्महत्यातर्फ धकेल्दै
जुम्ला पातारासीकी सरस्वती दमाईं (नाम परिवर्तन) ले पनि श्रीमानको निरन्तर यातनाले २०७५ माघमा ३४ वर्षको उमेरमै विष पिएर आत्महत्या गरिन् । श्रीमानका कारण आत्महत्या गर्नेको संख्या जुम्लामा दिनदिनै बढ्दो क्रममा रहेको प्रहरी बताउछन् ।
जुम्लामा मात्रै २०७५–०७६ मा ११ वटा २०७६–०७७ मा ९ वटा २०७७–०७८मा १४ वटा आत्महत्याका घटनाहरु भएका छन् । यो बर्ष ३ वटा आत्महत्याका घटना घटिसकेका छन् । घरेलु हिंसाका कारण महिलाहरु आत्महत्या गर्न बाध्य भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । जिल्ला प्रहरी कार्यालयको मुदा फाँटको तथ्याङ्ग अनुसार अत्महत्या गर्ने अधिकास महिला छन । जुन कुनै न कुनै रुपमा हिंसाबाट पिडित हुन्छन् ।
घरभित्रै हुने हिंसाले कैयौं महिला आत्महत्या गर्न बाध्य छन् । तर यस्तो अमानवीय व्यवहार रोक्ने सरकारसँग कुनै ठोस योजना छैन ।
पछिल्लो समयमा विज्ञान प्रविधिको प्रयोग शहर देखि गाउँ गाउँ सम्म अत्यधिक छ । यसको सकारात्मक र नकारात्मक प्रभाव हुन्छ नै । अहिले महिला माथि हिंसा गर्ने एक माध्यम प्रविधि पनि बनेको छ । सामाजिक संजालका कारण पनि महिलामाथि हिंसा बढेको देखिन्छ । त्यहि भएर प्रहरी कार्यलयले जुम्लाले बिद्यालयमा साइवर क्राइम सम्बन्धी सचेतना कार्याक्रम गर्दै आएको छ । साजिक संञ्चालको दुरुप्रयोग गर्दा कानुनमा भएको व्यवस्थाका बारेमा प्रहरीले बिद्यालयस्तरमा जानकारी गराउन थालेको जुम्लाका प्रहरी नायव उपरिक्षक नरेन्द्र चन्द बताउछन् । उनले भने, ‘आजकल मोबाइल, ट्याब, ल्यापटप, सामाजिक सञ्जाल आदि प्रविधिको प्रयोग जीवनको अभिन्न अंग बनेको छ । प्रविधिले व्यक्तिलाई कब्जामा लिइसकेको छ । जसका कारण बालबालिकाको ध्यान बिद्यालयतिर भन्दा पनी मोवाइल तिर बढीछ ।’
अहिले त्यहि भएर जुम्लाको प्रहारीले सबै विद्युतीय उपकरणबाट उत्पन्न इलेक्ट्रोम्याग्नेटिक विकिरणले शारीरिक र मानसिक रुपमै असर पु¥याउने तथ्यका बारेमा सचेतनाका कार्याक्रम गरेको हो ।
३ वर्षमा १सय ७२ महिला हिंसा पीडित
जुम्ला जिल्लामा एकद्धार संकट व्यवस्थापन केन्द्रको (ओसिएमसिमा) आर्थिक वर्ष २०७६–०७७ मा ३१ जना २०७–७७८मा ७७ जना, ०७८–०७९मा ६४जना गरी १सय ७२ जना घरेलु हिंसाबाट पीडित महिला उपचारको लागी आएका छन । जसमा ९२ जना महिला शारिरीक तथा मानसिक रुपमा हिंसा पीडित छन् । ३२ जना १८ वर्ष मुनीका किशोरी रहेको ओसिएमसी डाक्टर अर्पुव आर्चायले बताए । उनले भने ‘ ३५जना महिला तथा बालिका यौन हिंसापीडित थिए । यो तथ्याङ्कले हिंसा सहन हुन्न भन्ने चेतना महिलामा बढेको अनुमान गर्न सकिन्छ ।’

यद्यपि महिला लामो समयसम्म हिंसाको चरम अवस्थामा पुगेपछिमात्र पीडित न्याएको लागी पुग्ने गरेको यथार्थ भने जगजाहेर छ । श्रीमानको कुटाइबाट पीडित महिलालाई उपचारको लागी छुट्टै बेडको व्यवस्था ओसिएमसिले गरेको छ । उपचारपछि ओसिएमसिले महिला सेवा केन्द्र तथा प्रहरीसंगको समन्वयमा बुझाउने गरेको छ । महिला सेवा केन्द्रले पीडित महिलाको इच्छा अनुसार कानुनी प्रक्रियामा जाने गरेका छन । कतिपय महिला यातनाका कारण मानसिक रोगको सिकार भएको बताइन्छ ।
हिंसाको असर
घरभित्र होस् या बाहिर, आफ्नाबाट होस् या पराइबाट, महिलामाथि जुनसुकै प्रकारको हिंसा भए पनि त्यसको असर मानसिक रुपमा र शारिरीक रुपमा पर्ने गरेको कर्णाली स्वास्थ्य बिज्ञान प्रष्ठिान ओसिएमसीका डाक्टर अर्पुव आर्चायले बताए । उनले भने ‘हिंसा भोगका महिलालाई शारीरिक,मानसिक,सामाजिक, आर्थिक असर पर्ने गरेको छ ।’
घरायसी बोझ
परिवारका सबै सदस्यलाई एकै ठाउँ भएपनी महिलाको दैनिकी भने सहज हुन सकेको छैन । झन कर्णालीका महिला एक दिनमा १८ घण्टा काम गर्ने गरेका छन् । बिहान उठेदेखि नसुतेसम्म भान्सा देखि घरबाहिर काममा व्यस्त हुन्छन् । थरीथरीका परिकार पकाऊ, भाडा माझ, घरायसी काम, घर बाहिरको काम , खेतबारीको काम सबै महिलाले नै गर्नु पर्ने छ ।
हेर्दा सामान्य लागे पनि घरायसी बोझले महिलाहरु बढी मारमा पर्ने, हिंसाको सिकार हुने, पारिवारिक किचलो बढ्ने अधिकारकर्मी लक्ष्मी कन्या बुढा बताउँछन् । ‘कमाउने होस् नकमाउने, घरधन्दाको बोझ त महिलालाई हुन्छ,’ उनले भनिन्,‘रोजगारीको सिलसिलामा बाहिर रहेका पुरुष पनि अहिले एकै ठाउँ भइदिँदा, आवश्यकताअनुसार खर्च धान्न नसक्दा महिला नै घरेलु हिंसाको मारमा परेका छन् ।’
यसले गर्दा महिलालाई उत्पादनशील क्षेत्रमा केन्द्रित गराउनुपर्ने उनको भनाइ छ । ‘सरकार संघीय संरचनामा भएकाले महिलाको आर्थिक रूपान्तरण र सशक्तीकरणमा बजेट र कार्यक्रम बनाउनुपर्छ,’ उनले भनिन्, ‘यसले महिलामाथि हुने जस्तोसुकै विभेद र हिंसाको न्यूनीकरण र नियन्त्रण गर्न सघाउ पुग्छ ।’
मदिरा सेवन घरेलु हिंसाको प्रमुख कारण
घरेलु हिंसाको प्रमुख कारण मदिरा सेवन रहेको छ । पुरुषहरु प्रायजसो मदिरा सेवन गर्छन् । महिला हिंसा हुनुमा प्रमुख कारण मदिरा सेवन भएको जिल्ला प्रहरी कार्यलयका प्रहरी नयाव उपरिक्षक नरेन्द्र चन्दले बताउछन् । सबै जसो प्रहरीमा आउने महिलाका घटनामा श्रीमानसंग जोडीएको हुन्छन उनले भने, ‘दिनहुँजसो मदिरा सेवन गरी कुटपिट गर्ने । यहाँ उजुरी दिन आउने पीडित महिला श्रीमानले मदिरा सेवन गरेर कुटपिट गरेका हुन्छन् । मदिरा सेवन गरेर झगडा भएका घटना धेरै छन् ।’
महिला हिंसा बढेसंगै सचेतना पनि बढेको चन्द बताउछन् । पछिल्लो समयमा महिला उजुरी दिन आउने भएका छन । यो महिला सचेत भएको संकेत हो चन्द्रले थपे ।

नेपाल विभिन्न मानव तथा महिला अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय कानुनहरूको पालनकर्ता हो । नेपालको संविधान, २०७२ ले महिला हिंसालाई अपराध मानी सोही बमोजिमको कानुनी दण्ड–सजाय हुने कुरा निर्दिष्ट गरेको छ । मुलुकी ऐन एवम् अन्य विभिन्न ऐनको व्यवस्था समेत छ ।

 

सम्बन्धित समाचार