महिनावारी हुँदा घरमा बस्ने पातारासीका दुइजोडीलाई सम्मान

जुम्ला ः जुम्लाको पातारासी गाउँपालिका २का दुइजोडीलाई सम्मान गरिएको छ । महिनाबारी तथा रजस्वला भएको बेला घरैमा बस्ने साउनी बोहोरा उनका पती कालु बोहोरा , बिरे सार्की र उनकी श्रीमती रेउली सार्कीलाई ढाँका टोपी र पछेउरा ओढायर सम्मान गरिएको छ । वर्षभरिमा महिनावारी छाउ हुँदा घरैमा बस्ने तथा अरुलाई बस्न प्रेरित गरेको भन्दै उनीहरुको जोडीलाई हौसलास्वरुप सम्मान गरिएको हो ।
कर्णाली प्रदेशको जुम्लामा कुरीतिका रुपमा जकडिएको छुई प्रथा (छाउपडी) अन्त्य गर्न जुम्लाको पातारासी गाउँपालिकाले छुई गोठ मुक्त अभियान थालेको छ । गाउँपालिका र सर्वोदय नेपालले महिला र धामीझाँक्रीलाईसँगै राखेर सचेत गराउँदै महिनावारी भएको वेला महिलालाई गोठ होइन घरमा बस्ने सचेतना जोगाएको हो । जुन अभियान अहिले सार्थक बनिरहेको छ ।महिनावारी भएका बेला गाइको गोठमा बस्ने परम्परा तोडेको भन्दै पातारासीको २ वडाका तल्फीगाउँ , पेरे गाउँ , धोप गाउ छुइगोठ मुक्त गरिएको छ ।

महिनावारी भएका बेला गोठमा बसेका कारण धेरै महिलाले ज्यानगुमाएको भन्दै सुरक्षित कोठामा बस्न गाउँपालिका अध्यक्ष लक्षिमान बोहोराले आग्रह गरे । उनले भने महिनावारीका वेला गोठमा बस्दा पर्ने असरका बारेमा सर्वोदय नेपालले गाउँमा विभिन्न कार्यक्रम सञ्चालन गरेपछि अहिले त्यहाँका महिला महिनावारी हुँदा घरै बस्ने गरेको बताए । गाउँपालिका उपाध्यक्ष पुन्नकली महताराले महिनावारी हुँदा छाउ बार्ने र गोठमा बस्ने चलनले धेरै महिलाले ज्यान गुमाएका कारण हामीले छाउ नबार्न अभियान चलाएको बताइन । उनले भनिन हाम्रो अभियान सफल भएको छ ।
पछिल्लो समयममा सर्वोेदय नेपालले यो अभियान चलाएपछि छाउ बार्ने महिलाको सङ्ख्या घटेको प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढथापाले बताए । उनले भने, “छाउपडी बार्नेजस्तो अति घृणित कार्य बन्द गर्न हामीले गाउँपालिकामा अभियान नै चलाएका छौँ, अब यहाँको महिला छुइ भएको बेला गोठमा बस्ने छैनन ।यहाँका महिला छाउ हुँदा घर भन्दा गोठ बस्नुपर्ने थियोे ।

आजका दिनबाट यहाका महिला गोठमा बसेको देखेको खण्डमा पालिका कानुनी कार्बाही गर्न बाध्य हुने छ । महिनावारी भएकी महिला घरमा बसे गाई, भैँसीको दूध, दही, घ्यूलगायतका चिज दिएमा देउता रिसाउने र घरमा अनिष्ट हुन्छ भन्ने अन्धविश्वासका सबैले त्यागन आबश्यक छ ।
मुलुकी अपराध (संहिता) ऐनको दफा १६८ (३) मा रजस्वला वा सुत्केरीको अवस्थामा छाउपडीमा राख्ने वा अन्य भेदभाव, छुवाछूत वा अमानवीय व्यवहार गर्न नहुने उल्लेख गरिएको र यस्तो कसुर गरेको ठहर भए तीन महिनासम्म कैद वा रु तीन हजारसम्म जरिवाना वा दुवै सजाय हुनसक्ने व्यवस्था गरिएको भए पनि जिल्लामा अहिलेसम्म उक्त ऐन कानूनको पूर्णरूपमा पालना हुन नसकेका कारण छाउपडी प्रथा जटिल बन्दै गएको कानून सर्वोदय नेपाल जुम्लाका कार्याकारी निर्देशक कमल राज खत्रीले बताए । उनले छाउपडी प्रथा सामाजिक र धार्मिक आस्थासँग जोडिएका विषयलाई परिवर्तन गर्न कानून लागू गरेर मात्र नपुग्ने तथा व्यवहारमै लागू हुनुपर्ने बताए ।

यो प्राचीनकालदेखि नै चलिआएको बताइन्छ । सुदूरपश्चिमसहित मुलुकका अन्य जिल्ला, कालिकोट, दैलेख, डोल्पामा यो प्रथा कायमै छ । महिनावारीका कारण अलग्गै बसेका बेला महिला बलात्कार हुने, सर्पले डस्नेलगायतका अप्रिय घटना हुने गरेको पाइएको छ । तर जुम्ला स्थानीय तहले महिलाहरुको स्वास्थयमा परेको असरलाई मध्यनजर गर्दै छुईगोठ मुक्त अभियान थालेका छन ।
पातारासीगाउपालिकाले माथीर्लोपगाउँ , लोर्पगाउँ ,भोटगाउ तल्फी पेरे लगायत ७गाउलाई छुइगोठ मुक्त घोष्णा गरेको छ । यस अघि तिलागाउपालिकाले ३२गाउ छुईगोठ मुक्त गरेको छ । अभियानले महिनावारी हुँदा गोठमा होइन घरको सुरक्षित कोठामा बस्न धेरैलाई सहयोग गरेको छ । अभियानले स्थानीय महिलालाई छुईगोठ छोडेर घरको सुरक्षित कोठामा बस्न राजी बनाएको छ ।
सर्बोदय नेपाल जुम्लाका कार्यकारी निर्देशक कमल खत्रीले छाउगोठ मुक्त बस्ती घोषणा गर्नको लागि महिनामा दुई पटक गाउँमा छलफल तथा सचेतनाका क्रियाकलाप हुने गरेका थिए । उनले भने ,प्रत्येक ३ महिनामा घरधुरी सर्वेक्षण र घरदैलो कार्यक्रम सञ्चालन गर्दै आएका कारण महिला दिदिबैनीमा परिवर्तन आएको बताए । यो अभियान जुम्लाको तिला र पातारासीगाउपालिकाले मात्रै गरेर हुदैन,सबै स्थानीय तहले गर्न जरुरी छ । स्थानीय तहको महिला शाखाले यो कार्य गर्न जरुरी छ ।

 

सम्बन्धित समाचार