हवाइ सेवा नियमित बनाउन सांसद भण्डारीको नेतृत्वको टोलीको माग

जुम्लाः कर्णाली प्रदेश सभाका सदस्य नरेश भण्डारीको नेतृत्वको एक टोलीले कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाही समक्ष पुगेको छ । जुम्ला लगायत कर्णालीमा भएको हवाइ सेवा सहज र नियमित बनाउनको लागि पहल गर्न उक्त टोली पुगेको हो ।
वर्षेनी कार्णालीका जनता एयरलायन्सको यातना खेप्दै आएका छन। कर्णालीमा नियमित उडान नहुने, यात्रुले टिकट नपाउने र नीजि विमान कम्पनीको मनपरीका कारण सर्वसाधारणले सहजै रुपमा जहाज चढ्न नपाउने भएकोले तत्काल सहज हवाइ यातायात सेवा प्रदान गर्ने वातावरण बनाउन मुख्यमन्त्री शाही समक्ष माग गरिएको हो ।
सांसद नरेश भण्डारी लगायत सुर्खेतमा बस्ने कर्णालीका सरोकारवालोको टिम डेलिगेशन बनाएर कर्णालीको हवाइ क्षेत्रमा भोग्नु परेको समस्या समाधानका लागि जुट्न कर्णाली प्रदेश सरकारलाई आग्रह गरिएको हो ।
यो टोलीले कर्णाली प्रदेशमा इटिकट प्रर्णाली लागु गर्न,नियमित उडान भर्न र विमानस्थलमा पारदर्शीता सुनिश्चित गर्न आग्रह गरिएको सांसद नरेश भण्डारीले बताए । उनले हवाइ क्षेत्रमा भइरहेको अनियमितता रोक्न र जुम्ला स्थित विमानस्थलको शिघ्र स्तरउन्नती गर्ने कार्य अघि बढाउनको समेत ध्यानाकर्षण गरेको बताए ।उनले भने,‘कर्णालीमा अहिले सहज हवाइ यातायात सेवा नहुँदा यात्रुले सास्ती भोगिरहेका छन । आन्तरिक तथा बाह्य पर्यटक अलपत्र हुने अवस्था छ । जहाजमा बिरामी आउन सकेका छैनन । यो कर्णालीबासीका लागि दुखद पक्ष हो ।यथाशिघ्र सहज हवाइ यातायात सेवा पाउने वातावरण सिर्जना होस ।

’कर्णाली लोकमार्गको अबिलम्ब कालोपत्र गर्ने कार्यका लागि संंघीय सरकार लगायत सम्बद्ध निकायसँग आवश्यक पहल, समन्वय र निर्देशनका लागि कर्णाली प्रदेशका मुख्यमन्त्री शाही समक्ष माग गरिएको हो ।हालपनि कर्णाली प्रदेशका सम्पुर्ण जिल्लामा सडक पहुँच स्थापित हुन सकेको छैन । निर्मित सडक भरपर्दो र गुणस्तरीय छैन । कर्णाली प्रदेशका हिमाली जिल्लाहरु अहिले पनि महंगो,अनियमित र अपारदर्शी हवाइ यातायातमा निर्भर हुन बाध्य छन,कर्णाली प्रदेशका पुर्व आन्तरिक मामिला तथा कानुनमन्त्री समेत रहेका भण्डारीले भने,‘त्यसैले कर्णाली प्रदेशमा अनलाइन टिकटको व्यवस्था गर्न,नियमित उडान भर्न,हवाइ क्षेत्रमा भइरहेको अनियमितता रोक्न र जुम्ला विमानस्थलको स्तरउन्नती अविलम्ब शुरु गर्नु पर्नेमा जोड दिइएको छ । ’

कर्णाली लोकमार्गको कालोपत्रे गर्ने कार्य अघि बढाउन र संघीय सरकार,हवाइ सेवा प्रदायक कम्पनी लगायतका सरोकारवालाको ध्यानाकर्षण गरिएको छ । कर्णालीमा यात्रुको चाप बढ्दा जहाज नआउने समस्याले हप्तौ सम्म यात्रुले विमानस्थलमा कुर्नु परिरहेको छ । बिरामी उड्न सकेका छैनन । सर्वसाधारणले टिकट पाउदैनन । यसअघि जुम्लाबासीले हवाइ यातायात सेवा प्रदान गर्दा भएको विकृती रोक्न र नियमित उडान भर्ने वातावरण बनाउनको लागि जुम्लाबाट प्रतिनिधित्व गर्ने प्रदेश र प्रतिनिधिसभा सांसदलाई पहल गर्न भनेका थिए ।