बाढी पहिरो पीडितलाई दुई लाख दिने सरकारको घोषणा

सरकारले बाढी पहिरोमा परी मृत्यु भएका परिवारलाई दुई लाख रुपैयाँ राहत उपलब्ध गराउने भएको छ। बुधवार सिंहदरवारमा बसेको मन्त्रीपरिषद्को बैठकले आइतबार रातिदेखि देशभर परेको अविरल वर्षाका कारण आएको बाढी पहिरोमा परी निधन भएका परिवारलाई दुई लाख रुपैयाँ राहत दिने घोषणा गरेको हो।

सरकारले मृतक परिवारमा एक वा त्यो भन्दा बढी व्यक्तिको निधन भएमा प्रतिव्यक्ति थप एक लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए।

बैठकले विपद्बाट घर, बहाल नष्ट भएका वा खाद्यान्न बाली तथा जग्गा जमीन तथा व्यवसाय गुमाएका गुजारा चलाउन समस्यामा परेका ५ जना सम्मको परिवारलाई प्रतिव्यक्ति १५ हजार रुपैयाँ र ५ जना भन्दामाथि परिवार सदस्य भएको परिवारलाई २० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ। बाढी पहिरोमा परी घाईते हुनेहरुको उपचारको सबै व्यवस्था सरकारले गर्ने र उपचारमा कमी हुन नदिने निर्णय भएको पनि प्रवक्ता कार्कीले बताए।

उनले सम्बन्धित मन्त्रालयले विपद्बाट भएको क्षतिको आँकलन गरी यथशीघ्र प्रतिवेदन पेस गर्न पनि निर्णय गरेको समेत जानकारी दिए। त्यस्तै सडक सञ्जाल, पुल, विमानस्थलमा क्षति भएको भए तत्काल मर्मत गरेर सञ्चालनमा ल्याउने व्यवस्था गर्ने, विपद् व्यवस्थापन कोषमा आवश्यक रकम उपलब्ध गराइ सञ्चालनमा ल्याउने प्रवन्ध मिलाउने, विपद् प्रभावित क्षेत्रमा रोग फैलिन नदिनरोकथामका आवश्यक उपायहरु अपनाउने, विपद् प्रभावितहरुको उद्धार तथा राहत कार्यमा सहयोग र समन्वय गर्न प्रदेश, स्थानीय तहलाई अनुरोध गर्ने पनि निर्णय भएको छ।

बैठकले जल तथा मौसम विज्ञान विभागबाट जारी हुने मौसम पूर्वानुमान सम्बन्धी सूचनालाई ध्यान दिइ सतर्कता अपनाउन अनुरोध गर्ने निर्णय भएको प्रवक्ता कार्कीले बताए।

सम्बन्धित समाचार