घाइतेको उद्धार गर्न घटनास्थलमा हेलिकोप्टर

मुगुको बस दुर्घटनाका घाइतेको उद्धार गर्न संघीय सरकारले दुई वटा हेलिकोप्टर घटनास्थलमा पठाएको छ । गृहमन्त्री बालकृष्ण खाणको निर्देशनमा मुगुको छायाँनाथ रारा नगरपालिका–७ पिना तपनेखोलामा भएको बस दुर्घटनाका घाइतेलाई उद्धारका लागि सेना र समिट एयरको हेलिकोप्टर घटनास्थलमा पठाइएको हो ।

गृहमन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलका अनुसार मन्त्री खाणको निर्देशन अनुसार नेपाली सेना र समिट एयरको हेलिकोप्टर घटनास्थलमा पुगेका हुन् । दुई वटा हेलिकोप्टरले घाइतेलाई उद्धार गरेर नेपालगञ्ज लैजाने तयारी छ ।

घटनास्थलमा जिल्ला प्रहरी कार्यालय मुगुबाट प्रहरी नायव उपरीक्षक चित्रबहादुर भट्टराईको नेतृत्वमा १० जनाको टोली खटिएको छ । नेपालगञ्जबाट मुगुको गमगढीका लागि हिडेको भे १ ख ३१६७ नम्बरको बस पिनागाउँमा दुर्घटना हुँदा मृत्यु हुनेको संख्या २५ पुगेको छ । झण्डै डेढ दर्जन बढी घाइते छन् ।

संघीय सरकारले तत्कालै घाइतेको उद्धारका लागि कदम चाल्दा प्रदेश सरकार भने मुकदर्शक बनेको छ ।

सम्बन्धित समाचार