महिलाको शंकास्पद मृत्यु, छोराविरुद्ध किटानी जाहेरी
ओखलढुंगा
ओखलढुंगाको खिजीदेम्वा गाउँपालिका वडा नं. ९ मा ५८ वर्षीया कमुनी शेर्पाको शंकास्पद मृत्यु भएको छ । मृतकका माइती पक्षबाट हत्या गरिएको भन्दै परिवारकै सदस्यविरुद्ध किटानी जाहेरी दर्ता गरेका छन् ।
गत ३२ साउनमा राति लडेर मृत्यु भएको प्रहरीले सुचना पाएको थियो । घटनास्थलमा प्रहरी पुग्दा स्थानीयले कुटपीटबाट मृत्यु भएको बताएको र अवस्था शंकास्पद भएकाले शव पोष्टपार्टमपछि अनुसन्धान.थालिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका डिएस्पी गोविन्दराज काफ्लेले जानकारी दिए ।
स्थानीयकाअनुसार लडेर मरेको परिवारकै सदस्यले जानकारी गराएपछि रीतपूर्वक अन्त्यष्टि गर्ने तयारी गरेको र एक स्थानीयले अनुहार हेरौं भनेर अनुहारबाट कपडा लिकाल्दा अनुहारमा चोटैचोट देखेर प्रहरीलाई खबर गरिएको थियो ।
मृतकका छोराविरुद्ध नै किटानी जाहेर आएपनि शंकास्पद अवस्थाको शव रहेकाले पोष्टमार्टम रिपोर्ट तथा अनुसन्धानबाट एकिन भएपछि मात्रै हत्या भए÷नभएको निष्कर्षमा पुग्न सकिने डिएस्पी काफ्लेले बताए ।
उनले अनुसन्धानबाट हत्या एकिन भइनसकेकाले आरोपितको नाम उल्लेख गर्न चाहेनन् । मृतकको माइती पक्षका जाङ्बु शेर्पाले छोराले हत्या गरेको किटानी जाहेरी गरेका छन् । आरोपित छोरालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको प्रहरीको भनाइ छ ।








