अबको चुनावमा हामी एक नम्बर हुन्छौं, हेर्नुहोलाः प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादीमा विचलन हुने पक्रिया तीब्ररुपमा बढीरहेको बताएका छन् । केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गदै प्रचण्डले भनेका छन् ‘हामीमा पनि विचलन हुने हो कि भन्ने प्रक्रिया निकै तीब्र छ । त्यतातिरै गइराखेको छ, हामीले थाहै नपाई , हामीले यसलाई कुन विन्दुमा ब्रेक गर्छौं त ? कसले गर्छ ब्रेक ? हामीले ब्रेक गर्ने हो कि हैन ? मुखले मात्रै ब्रेक गर्ने हो कि व्यवहारमा ? अहिले गरिरहेकै कामलाई निरन्तरता दिने र यथास्थितिमै रुमलिरहने हो भने माओवादी पार्टीको औचित्य छैन ।’

उनले विश्वका कम्युनिस्ट पार्टीको उदाहरण दिदै अहिलेको जसरी काम गर्ने हो भने माओवादी केन्द्रको पनि काम नभएको बताएका छन्। उनले भने ‘विश्वमा कम्युनिस्ट पार्टीहरू पतन भए । गोर्भाचोभ देखियो, येल्तसिन पनि देखियो, वर्गप्रति, सिद्धान्तप्रति इमान्दार नहुनुभन्दा पार्टीकै विघटन गरेर, अध्ययन–अनुसन्धानमा लाग्नु वा किताब लेखेर बस्नु बढी इमान्दारीता हुन्छ ।’

केन्द्रीय कमिटीको बैठकमा यसो हेर्दा ठीकैजस्तो देखिए पनि माओवादी पार्टी अरु बुर्जुवा प्रतिक्रियावादी भन्दा फरक नदेखिएको र त्यही दिशातिर गइरहेको प्रचण्डले बताए ।

जनयुद्धकालमा जोखिम उठाएको हुनाले अबको क्रान्तिको नेतृत्व गर्ने तागत माओवादीसँग रहेको प्रचण्डले दाबी गरे । ‘अहिले पनि नेपालको क्रान्तिको नेतृत्व गर्ने तागत यही नेतृत्वको टीमसँग नै छ,’ बैठकमा प्रचण्डले भने, ‘अबको चुनावमा हामी एक नम्बर हुन्छौं । हेर्नुहोला, पहिला पनि त्यति पत्याउँदैनथे, हामी एक नम्बर भयौं ।’

अहिलेको स्थिति सामान्य नरहेको प्रचण्डले बताए । आफूले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन हतारमा तयार पारेको हुनाले भाषिक लगायतका कमी कमजोरीहरु रहे पनि आगामी राष्ट्रिय सम्मेलनसम्म बहसका लागि यसले आधार तयार पारेको प्रचण्डले बताए ।

८ पेजको प्रस्तावमा विचारको भ्रूण रहेको बताउँदै उनले यसलाई राष्ट्रिय सम्मेलनसम्म जाँदा नेपाली क्रान्तिलाई दिशावोध गर्ने दस्तावेज तयार पार्ने बताए । प्रचण्डले भने, ‘त्यसो गर्न सकेनौँ भने हामी रुमलिन्छौं । हामी यसरी रुमलिन दिँदैनौँ । हामी अरुजस्तो हैनौं भनेर फेरि एकचोटि सिद्ध गर्नुछ ।’

विगतका बैठकहरूमा नेताहरुबीच घोचपेच हुने गरे तापनि यसपटकको बैठक त्यस्तो नभएको प्रचण्डले बताए ।

विधानबाट जिल्ला कमिटी विघटन

यसैबीच माओवादीले आफ्नो पार्टीका सबै जिल्ला कमिटीहरु विघटन गरेको छ । अब पार्टीका जिल्ला सम्मेलनहरू पनि नगर्ने माओवादीले घोषणा गरेको छ । बैठकमा प्रचण्डले भने, ‘आजैदेखि विधानबाट जिल्ला डिलिट भयो । अब जिल्ला सम्मेलन हुँदैन । अब सीधै जनतामा ।’

अब संविधान र संघीयताको मर्म अनुसार पार्टीको स्थानीय तह, प्रदेश र केन्द्र मात्रै रहने प्रचण्डले बताए ।

जिल्ला कमिटीको साटो जिल्ला समन्वयन कमिटी रहने र त्यसमा स्थानीय तहका प्रमुखहरुलाई राख्ने गरी स्थायी कमिटीले उपयुक्त व्यवस्था गर्ने प्रचण्डले केन्द्रीय कमिटीको बैठकलाई जानकारी गराएका छन् ।

सम्बन्धित समाचार