निरन्तरको हावाहुरी र वर्षाले वेपत्ताको खोजीमा समस्या

जाजरकोट : लगातारको हावाहुरी र वर्षातका कारण जलजला पाटनमा वेपत्ता भएका सात जनाको खोजीकार्यमा समस्या भएको छ।

 

मंगलबार देखि हराइरहेका कुशे गाउँपालिका ८  र ९ औलरिजाका सात जना गोठालाहरुको खोजीमा समस्या भएको हो।

पशु चौपाया लिएर चरिचरन क्षेत्र गएका ३५ वर्षीय दिलबहादुर खड्का, २५ वर्षीय विक्रम खड्का, २८ वर्षीया चन्द्रा खड्का, १८ वर्षीय भविन्द्र खड्का, १२ वर्षीय मीम खड्का, १७ वर्षीया धनसरा खड्का र  वडा नं ९ का ४० वर्षीय कृष्ण रोकाय अझैं सम्पर्कमा आएका छैन।

हावाहुरी, पानीसहित आएको बहुकाले उडाएर वेपत्ता भएका उनीहरुको खोजीका लागि प्रहरी टोलीसहित स्थानीयलाई घटनास्थल पठाए पनि त्यहाँ पुग्न नसकेको डिएसपी मधुकुमार थापाले बताए।

सोही घटनामा बच्न सफल ४४ वर्षीया भक्तबहादुर रोकाय, १० वर्षीय ईश्वर रोकाय, १४ वर्षीया दुर्गा रोकाय र ५५ वर्षीय गंगा खड्का सम्पर्कमा आएर प्रहरीलाई खबर गरेका थिए।

त्यस्तै जलजला पाटनमा २२ गाई, १० भैँसी र ५० बाख्रा मरेको प्रहरीले जनाएको छ। । बुधबार विहान मात्र घटनाबारे जानकारी आएको थियो। खोजीका लागि गएको प्रहरी र स्थानीयको टोली घोडेओडारमा पुगेको र घट्नास्थल पुग्न अझैं पाँच घण्टा भन्दा बढी समय लाग्ने जानकारी आएको डिएसपी थापाले बताए।

घटनास्थल समुन्द्री सहतदेखि चार हजार आठ सय मिटर उचाइमा छ।

सम्बन्धित समाचार