जुम्लामा कोरोनाका कारण एक कैदीको मृत्यु

जुम्ला कारागारमा रहेका एक जना कैदीको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । जुम्ला तिला गाउँपालिका १ का ७६ बर्षिय एक पुरुषको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचारका क्रममा मृत्यु भएको हो ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका प्रवक्ता डा. रमेश भटट्टराइले दुइ दिन देखि आइसियुमा उपचार गराइराखेको कैदीको मृत्यु भएको जानकारी दिए । उनले भने,‘संक्रमित जेलबाट आउनु भएको हो । उनी कैदी हो ।दुई दिन देखि आइसियुमा राखेर उपचार भइराखेको थियो । सोमबार उनको उपचारका क्रममा मृत्यु भयो । ’
‘संक्रमित संग ठुलो रोग थिएन । तर सामान्य दम देखिएको थियो । संक्रमणबाट बचाउनको लागि हर प्रयास भएपछि बचाउन सकिएन,’ भटट्टराइले भने । एक जना कैदीको मृत्यु संगै जुम्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ जना पुगेको छ । अन्य तीन जुम्ला बाहिरको गरेर हाल सम्म कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा ६ जनाको मृत्यु भइसकेको छ ।
मृत्यु हुनेहरुमा कालिकोट जिल्ला तिलागुफा नगरपालिकाका दुई जना,सुर्खेत घर भएर कालिकोटमा व्यवसाय सञ्चालन गर्दै आइरहेका १ जना, जुम्लाको हिमा गाउँपालिकाका १ जना, तिलाका १ जना र गुठिचौर गाउँपालिकामा एक गरेर ६ जना संक्रमितको मृत्यु भएको हो ।
जिल्ला कारागार जुम्लाका कोरोना लक्षणका बिरामी देखिएपछि अस्पतालले पिसिआर परिक्षण गरेको थियो । जसमध्ये १५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । मृतक बाहेक अन्य सबै संक्रमितको अवस्था सामान्य रहेको प्रहरी प्रमुख डिएसपी दानबहादुर थापाले जानकारी दिए ।
डिएसपी थापाले भने,‘ मृतकलाई संक्रमणको शुरुवात देखि नै अस्पतालमा लगिएको थियो । अक्सिजन दिइएको थियो । आइसियुमा राखेर उपचार भइरहेको थियो । चिकित्सकको उच्च निगरानी थियो । तर बचाउन सकिएन । कैदी संक्रमितलाई अस्पतालमा कडा सुरक्षा दिएर उपचार भइराखेको थियो । ’उमेरका हिसावले पाको र दमको रोगी भएकोले बचाउन कठिन भएको हो ।
मृतक पुरुष जबरजस्तीकरणी मुद्धामा जेल चलान भएका थिए । कारागारका कैदीबन्दीलाई भित्रै आइसोलेट गरेर राखेको कारागार जुम्लाले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय जुम्लाका अनुसार बैशाख ८ देखि यता ५ सय ५ जना संक्रमित छन । जसमध्ये २ सय ९१ जना निको भएर घर फर्किएका छन । अस्पतालमा ३४ जनाको उपचार भइरहेको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले जानकारी दिए । दैनिक दिन कोरोना संक्रमण बढिरहेकोले उच्च सावधानी अपनाउदै निषेधाज्ञाको पालना गर्न आग्रह गरिएको छ ।

सम्बन्धित समाचार