कुरुवालाई निःशुल्क खाना, खाना खुवाउन युवाहरुको संक्रियता

सुर्खेत । कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचाररत कोरोना संक्रमितका कुरुवालाई निःशुल्क खाना खुवाइने भएको छ । सिद्धार्थ वनस्थली इन्स्टिच्युटका पूर्वविद्यार्थीको सहयोगमा बिहानको खाना खुवाउने व्यवस्था मिलाइएको हो ।
पूर्व विद्यार्थीहरुले नेपाली सेना सबुज गणको सहकार्यमा निःशुल्क खाना खुवाइने भएको छ । कुरुवाका लागि इन्स्टिच्युटका २०४७ को एसएलसी ब्याच समूहका विद्यार्थीले दैनिक निःशुल्क खानाको व्यवस्था गरेका छन् ।
बिरामीका कुरुवाका लागि अबदेखि कम्तीमा दुई महिना निःशुल्क खाना खुवाइने अभियानका सदस्य एवं नयाँ सबुज गणका गणपति केशव रायमाझीले बताए । ‘कुरुवाका लागि खाना प्रत्येक दिन मास्क, सेनिटाइजर र पञ्जाको व्यवस्था गरिएको छ ।’ उनले भने,‘बेलुकाका खाना अर्को समूहले खुवाउने कार्यक्रम रहेको छ ।’
अस्पतालमा झन्डै ५० जना कोरोना संक्रमितको उपचार भइरहेको छ ।
खाना खुवाउन युवाहरुको संक्रियता
कर्णाली प्रदेशमा कोरोना भाइरसको दोस्रो लहरलाई नियन्त्रण गर्न सरकारी क्षेत्रसँगै निजी क्षेत्र र युवाहरूको समूह सक्रिय भएर लागिरहेका छन् । प्रदेशको राजधानी समेत रहेको सुर्खेतमा युवाहरूले विभिन्न अभियान चलाएर कोरोना नियन्त्रणमा सरकारलाई साथ दिइरहेका छन् ।
‘विपदका सारथी कर्णालीका युवा’ नामक अभियानले निषेधाज्ञामा कर्णाली प्रदेश अस्पतालको कोभिड वार्डमा दैनिक खाना पु¥याइरहेको छ । वाडमा रहेका ५० देखि ७० जनाभन्दा बढी कुरुवाहरूलाई खाना खुवाइरहेका छन् ।
युवा विद्यार्थी ममता अधिकारीको नेतृत्वमा युवाहरूले कुरुवालाई खानासँगै लामो समयको निषेधाज्ञाका कारण आर्थिक अवस्था कमजोर भएका परिवार, सुरक्षाकर्मी, बालआश्रम लगायतका क्षेत्रमा सहयोग गर्दै आएका छन् ।
‘कर्णालीमा रोगले भन्दा भोकले नमरौँ’ भन्ने उद्देश्यका साथ मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा अध्ययनरत विद्यार्थी तथा अन्य विभिन्न क्षेत्रका १४ जना युवाहरू मिलेर उक्त अभियान सुरु गरेका हुन् । सुरुमा आ–आफैले पैसा जम्मा गरेर सुरु गरिएको अभियानमा पछिल्लो समय बजार क्षेत्रका व्यापारी, समाजसेवीबाट सहयोग आइरहेको संयोजक अधिकारीले जानकारी दिइन् ।
‘१४ जनाको नेतृत्वमा दैनिक ५÷५ जनाले खाना पकाएर अस्पतालमा पु¥याउने गरेका छौँ’, राधिकाले भनिन्, ‘ १० जनाले खाना पकाएर खुवाइरहेका छौँ भने अन्य चार जना अत्यावश्यक कामका लागि तयारी अवस्थामा राखेका छौँ ।’
उनीहरूले वीरेन्द्रनगरस्थित बालकृष्ण सुनारले उपलब्ध गराएको हल प्रयोग गरिरहेका छन् ।
अहिले विभिन्न क्षेत्रबाट सहयोग आएर करिब डेढ महिनालाई पुग्ने खाद्यान्न संकलन भएको उनले बताइन् । उनी भन्छिन्, ‘बजार क्षेत्रमा रहेका व्यवसायीहरूले खाद्यान्न, दाल, नुन, तेल सहयोग गरिराख्नु भएको छ । केही समाजसेवीले नगद पनि सहयोग गर्नु भएको छ ।’
अभियानले करिब तीन महिनासम्म अस्पतालका कुरुवाहरूलाई खाना खुवाउने बताएको छ । ‘हामीले ९० दिनसम्म खाना खुवाउने भनेका छौँ’, संयोजक अधिकारीले भनिन्, ‘कोरोना प्रभावित नागरिकलाई सेवा गर्ने उद्देश्यका साथ लागेका छौँ । हाल बेलुकाको मात्र खाना खुवाउने गरिरहेका छौँ । अब बिहानको लागि पनि व्यवस्थापन गर्दै छौँ ।’
संयोजक ममतामा पनि कोरोना संक्रमण देखिएको थियो । उनलाई कोरोना पोजेटिभ देखिएर सन्चो भएको १४–१५ दिन भयो । आफू संक्रमित हुँदा कोभिड वार्डमा देखिएको समस्या, कुरुवाको जटिलता देख्दा यो समयमा केही गर्न सकिन्छ कि भनेर युवाहरू लागि परेको उनले बताइन् ।
अभियानमा ममतासँगै रेशम नेपकिङ, गिता कटुवाल, लोकेश पोखरेल, सुनिता नेपाली, दिपेन्द्रजंग शाही लगायतका युवा रहेका छन् ।

सम्बन्धित समाचार