बालबालिकाका लागि विशेष वार्ड र आइसियूको व्यवस्था गर्न देउवाको माग

काठमाडौं : नेपाली कांग्रेस सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले बालबालिकाका लागि विशेष वार्ड र आइसियूको व्यवस्था गर्न माग गरेका छन्।

केही महिनामै कोरोना भाइरसको तेस्रो लहर आउन सक्नेतर्फ सचेत गराउँदै देउवाले सातवटै प्रदेशस्तरमा आवश्यक तयारीका लागि आग्रह गरेका हुन्। कोरोनाको तेस्रो लहरले बालबालिकालाई असर गर्ने विज्ञहरूले बताइरहेको भन्दै देउवाले त्यसबाट बालबालिकालाई जोगाउन पूर्व तयारी गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

‘कोरोना भाइरसको तेस्रो लहर पनि केही महिनामै आउन सक्ने र त्यसले बालबालिकालाई असर गर्ने विज्ञहरूले बताइरहेका छन्। म सरकारलाई केन्द्र र सातवटै प्रदेशमा बालबालिकाका लागि अस्पतालहरूमा विशेष वार्ड, आइसियूलगायतको तयारी र १२ वर्षमाथिकालाई खोप सुरु गर्ने प्रक्रिया अघि बढाउन अनुरोध गर्दछु,’ देउवाले सामाजिक सञ्जालमार्फत भनेका छन्।

यस्तै कांग्रेसले कोभिड संक्रमितको उपचारका लागि आफ्ना भवन उपलब्ध गराउने जनाएको छ। कोभिड– १९ बाट संक्रमितहरूले बेड नपाएर मृत्युवरण गरिरहनुपरेको भन्दै कांग्रेसले देशैभरि रहेका आफ्ना कार्यालय भवनहरू प्रयोग गर्न आग्रह गरेको छ।

कांग्रेसका ४० भन्दा बढी जिल्लाका सभापतिहरू सम्मिलित भर्चुअल संवादबाट जिल्ला सभापतिहरूले आफ्ना कार्यालयका भवनहरू कोभिड संक्रमितको उपचारका लागि आइसोलेसन सेन्टर उपलब्ध गराउने निर्णय गरेको हो।

जिल्ला सभापतिहरूले सरकारले कोरोना महामारी रोकथाम, नियन्त्रण र उपचारका लागि काम गर्न नसकेको भन्दै कांग्रेसले त्यसका लागि सरकारको गम्भीर ध्यानाकर्षण गराउनुपर्ने माग गरेका छन्।